रूसी राष्ट्रपति पुटिन नेपाल आउँदै : नेपालको युरेनियम भण्डारमा रूसको चासो - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Friday, November 22, 2019

रूसी राष्ट्रपति पुटिन नेपाल आउँदै : नेपालको युरेनियम भण्डारमा रूसको चासो


छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गर्नुभएको प्रस· सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्नुहुने भएको छ।पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ।
‘राष्ट्रपति पुटिनको तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको छैन, उता (रूस)बाट डिसेम्बर अन्तिम साताका लागि प्रस्ताव आएको छ।’ –प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्रोतले भन्यो।
नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारको उत्खनन र खरिद गर्न चासो लिँदै रूसले पुटिनको भ्रमणको तयारी गरेको सो कार्यालयका उच्च अधिकारीले नेपाल समाचारपत्रलाई बताए। इन्धन र परमाणु हतियारको मुख्य कच्चा पदार्थका रूपमा प्रयोग गरिने युरेनियम चिकित्साशास्त्र, भौगर्भिक अध्ययनसहित विभिन्न प्रकृतिका वैज्ञानिक खोज अनुसन्धानमा समेत प्रयोग हुने गर्छ।
रूस युरेनियम प्रशोधन गर्ने विश्वकै पहिलो सूचीमा रहेको छ।खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङको लोमाङथानमा १० किमि लम्बाइ र तीन किमि चौडाइ क्षेत्रमा बहुमूल्य धातु युरेनियम भण्डार भएको पुष्टि गरेपछि सो क्षेत्रको निगरानी नेपाली सेनाले गर्दै आएको छ।
मकवानपुर धियालको तीनभंगाले, मकवानपुरकै चिरुवा र चाँदेखोला, काठमाडौंको उत्तर पश्चिमी क्षेत्र, शिवपुरी, नुवाकोटको ककनीलगायतका भेगमा समेत यस्तो धातु रहेको विभागको ठहर छ। अहिलेसम्मको अध्ययनअनुसार ठूलो र फराकिलो खानी भने लोमाङथानमा रहेको पुष्टि भएको छ।
रेडियोधर्मी पदार्थको प्रयोग र ओसारपसार फराकिलो बनिरहेका बेला नेपालमा अहिलेसम्म यसबारे कानुन बनेको छैन। रेडियोधर्मी पदार्थ उत्खनन, प्रशोधन र अन्तर्राष्ट्रिय बजार निर्यात गर्न आवश्यक पर्ने कानुन निर्माणका लागि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले नेपाललाई सहजीकरण गर्दै आएको छ।
अस्ट्रेलियाको भियानामा मुख्यालय रहेको आईएईए यस विषयको नियमन गर्ने अन्तर्राष्ट्रिय निकाय हो। सन् २००८ को जुलाईमा नेपालले सो एजेन्सीको सदस्यता लिएपछि कानुन बनाउनुपर्ने तत्परता देखाउँदै आएको छ, तर कानुनले अझै अन्तिम रूप पाएको छैन।
पुटिन भ्रमणका क्रममा नेपाललाई ३ खर्ब रुपियाँ हाराहारीको ‘सफ्ट लोन’ दिने प्रारम्भिक प्रस्तावसमेत आएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। उच्चस्तरीय भ्रमणको वातावरण तय गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भोलि शनिबार रूसको राजधानी मस्को जाँदै हुनुहुन्छ।
उहाँ रसियाली समकक्षी सर्गेइ लावरोवको मैत्रीपूर्ण निमन्त्रणामा मस्को जाने तयारीमा जुट्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।तर, पुटिनको नेपाल भ्रमणबारेको विस्तृत खबर आफूलाई प्राप्त नभएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले बताउनुभयो।
‘हाई लेभल भिजिटको सम्भावना सधैं हुन्छ तर तत्काललाई रसियाबाट त्यस्तो कुनै खबर आएको छैन, मन्त्रीज्यूचाहिँ शनिबार उता जाँदै हुनुहुन्छ।’ –उहाँले भन्नुभयो।
ज्ञवाली द्विपक्षीय मन्त्रीस्तरीय बैठक र रसियाका राजनीतिक दलका नेतासहित गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिसँगको भेटवार्तामा सहभागी हुने परराष्ट्रले जनाएको छ।
नेपाल र तत्कालीन सोभियत संघबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। औपचारिक सम्बन्ध स्थापना भएको यति लामो अवधिमा सो मुलुकका तर्फबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको छैन।
त्यहाँका प्रधानन्याधीश, कम्युनिस्ट पार्टीका, तल्लो र माथिल्लो सदनका सांसदलगायतले मात्रै नेपाल भ्रमण गरेका छन्। नेपालका तर्फबाट भने पूर्वराजाहरू महेन्द्रले सन् १९५८, वीरेन्द्रले सन् १९७६ मा र तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सन् २०१० मा रूसको भ्रमण गर्नुभएको थियो।
तत्कालीन सभामुख सुवास नेम्वाङ, तत्कालीन एवं वर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादवलगायतले पनि सो मुलुकको भ्रमण गर्नुभएको छ। सरकारको पहल प्रभावकारी नहुँदा रूसबाट नेपालमा अहिलेसम्म उच्चस्तरीय भ्रमण हुन नसकेको सो मुलुकका लागि पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ बताउनुहुन्छ।
नेपालले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति र परिचयलाई फराकिलो बनाउन सबै मुलुकसँगको उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ। ‘ग्लोबल चेन्जमा सबैको सहयोग चाहिन्छ, नेपालबाट प्रभावकारी पहल भयो भने रूसबाट उच्चस्तरको भ्रमण असम्भव छैन’ –श्रेष्ठले भन्नुभयो।
नेपालको प्रमुख विकास साझेदारमध्येको एक रूसको आर्थिक तथा प्राविधिक सहयोगमा पूर्व–पश्चिम राजमार्गको सिमरा–जनकपुर खण्ड निर्माण भएको थियो भने काभ्रेको पनौती जलविद्युत् आयोजना पनि सोही मुलुकको सहयोगमा निर्माण भएको हो।
वीरगन्ज चिनी कारखाना (हाल बन्द), जनकपुर चुरोट कारखाना (हाल बन्द), कान्ति बाल अस्पताल, कृषि सामग्री कम्पनी, कैलालीको अत्तरियास्थित दिव्या रोजिन एन्ड टर्पेनटाइन प्लान्ट (खोटो संकलन र प्रशोधन गर्ने) कम्पनीलगायतका संघसंस्था पनि रूसको सहयोगमा निर्माण भएका हुन्।
नेपालको ऊर्जा र जलविद्युत् क्षेत्रको विकासमा सो मुलुकले चासो राख्दै आएको छ। दुवै मुलुकका सरकारी अधिकारी संलग्न ऊर्जा सहकार्यबारेको संयुक्त कार्य बैठक २०१३ मा काठमाडांैमा आयोजना भइसकेको छ।
नेपालले तयारी गलैंचा, पस्मिना, चिया, कफी, हस्तकला सामग्री निर्यात गर्दै आएको छ। त्यसै गरी रूसबाट नेपालले हवाइजहाज र हेलिकोप्टरका पार्टपुर्जा, विद्युतीय सामग्री, तामाका पाता, औद्योगिक कच्चा पदार्थ, खानेतेल, विभिन्न प्रकृतिका अनाज र फलफूल आयात गर्दै आएको छ।
सो मुलुकसँगको नेपालको व्यापार घाटा भने निकै फराकिलो रहँदै आएको छ। रूस–नेपाल सीधा हवाई उडान हुँदै आएकोमा सो मुलुकको राष्ट्रिय ध्वजावाहक जहाज एरोफ्लोट एयरलाइन्सले सन् २००२ जनवरी १३ तारिखदेखि मस्को–काठमाडौं उडान स्थगित गरेको थियो। सीधा हवाई उडान नहुँदा नेपाल भित्रिने रूसी पर्यटकको संख्यामा सुधार आउन सकेको छैन।

No comments:

Post a Comment

Post Bottom Ad

Pages