आमाका नाममा स्वर्ण पदक - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Wednesday, December 4, 2019

आमाका नाममा स्वर्ण पदक


निकै उत्साह र भव्य रूपमा सुरु भएको तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता उद्घाटनको भोलिपल्टै नेपालले चामत्कारिक रूपमा १५ स्वर्ण पदक जितेको खुसी फुलिरहेको थियो । कार्यव्यस्तताले खेल भइरहेका स्थानमा पुग्न नसकेकी  मैले  टेलिभिजन च्यानल र सामाजिक संजालमै पनि आँखा डुलाउन भ्याइरहेकी थिइनँ । छोरालाई स्कुलबाट घर ल्याउनेवित्तिकै सामाजिक संजाल खोल्दै गर्दा आयशा शाक्यले स्वर्ण पदक जितेको भिडियो प्रसारण भइरहेको थियो ।
ओहो उत्साह ! ओहो आँट र शक्ति ! आफ्नै उमेर समूहकी आयशाले स्वर्ण पदक प्राप्त गर्दा म निकै हर्षित भएँ तर अचम्भित भइनँ किनकि आयशाले अघिल्लो सागमा पदक जितेपछिको उत्साह र उनका जीवनसाथी दीपक विष्टसँग उनको सहकार्यको तालमेल र एकअर्काप्रतिको प्रेरणाले उनी निरन्तर संघर्षरत थिइन् ।
हुनत नेपाली समाज हामीले सोचेजस्तो सहज छैन । आजको युगमा पनि हाम्रो देशका धेरै महिलाहरू परिवारको घेराबाट बाहिर आउन सकेका छैनन् । बन्द प्रशिक्षणमै रहेका बेला एथ्लेटिक्सकी राष्ट्रिय खेलाडीे तुलसा रोजगारीका लागि कतार भासिइन् । मुलुकमा साग खेल चलिरहँदा आफ्नै उमेर समूहका साथीहरूले सागका विभिन्न खेलमा कीर्तिमान कायम गर्दै पदक जितिरहँदा अछाम साँफेबगरकी पार्वती बुढा रावतले छाउगोठमै ज्यान गुमाउनुपरिरहेको छ ।
तर, अहिलेको साग खेलमा सहभागी एथ्लेटिक्स दस हजार मिटरमा नयाँ कीर्तिमान कायम गर्ने सन्तोषी श्रेष्ठ, क्रिकेटमा विश्व कीर्तिमान कायम गर्ने अञ्जली चन्द, उसुकी सुस्मिता तामाङ, तेक्वान्दोकी काजल श्रेष्ठ, करातेका सुनिता महर्जन पुम्सेका निशा दर्नाल, स्वस्तिमा तामाङ, रञ्जिला तिमिल्सिना टायथलनकी सोनी गुरुङलगायतका साग खेलमा सहभागी महिला खेलाडीहरूको उत्साह र खेल प्रदर्शन हेर्दा हाम्रो समाज त्यति जटिल पनि छैन ।
हरेक व्यक्तिले पारिवारिक सहयोग (जीवनसाथीसमेतको), उत्साह र प्रेरणा प्राप्त गर्ने हो र पूर्ण आत्मविश्वासका साथ आफ्नो कर्ममा लाग्न पाउने हो भने यसरी निरन्तर स्वकर्ममा समर्पित मान्छेले नै सफलता हात पारेरै छाड्छ भन्ने कुरा यस साग खेलबाट पुष्टि भएको छ ।
यद्यपि, नेपालको शहरी भेग ग्रामीण भेगको तुलनामा शिक्षा, स्वास्थ्य, विकास, चेतनाका दृष्टिले अगाडि नै छ । तर, पनि काठमाडौंको स्थानीय नेवार परिवारमा जन्मिएकी आयशाले सुदूरपश्चिमका दीपक विष्टसँग विवाह गर्दा कति र कस्ता चुनौती सामना गरिन् होला ? श्रीमान्–श्रीमती एउटै क्षेत्रमा लागिरहँदाका अवसर र चुनौती कति सामना गरिन् होला ? यी आफ्नै संघर्ष भए ।
अझ दुई साना छोराहरू हुर्काउँदै तेक्वान्दो जस्तो शारीरिक कलायुक्त खेलको तयारीका लागि उनले गरेको मिहिनेत सराहनीय छ । आयशाले स्वर्ण पदक जितिन्, उनको स्वर्ण पदक उनीमै सीमित रहेन । आयशाका दुई छोरा, जसले शैशवावस्थामै आमाको उत्कृष्ट प्रदर्शन हेर्न पाए, उनीहरूको त्याग पनि हो त्यो सफलता ।
वर्तमानमा महिलाहरू घर व्यवहारमैसीमित नभई व्यावसायिक र पेसागत रूपमै अगाडि बढिरहेका छन् । यो क्रममा घर परिवारको हेरविचार मात्र होइन, बालबच्चाको सहज र सुरक्षित भरणपोषणका साथै मातृवात्सल्ययुक्त बालमैत्री वातावरण बनाउनु महत्त्वपूर्ण विषय बनिरहेको छ । आपूm पनि पेसागत महिला भएकाले व्यावसायिक तथा पेसागत महिलाका कठिनाइसँग सहजै साक्षात्कार हुन्छु । आयशाले २ वर्षको छोरालाई घरमा छाडेर बन्द प्रशिक्षणमा भाग लिइरहँदा मातृवात्सल्यले उनलाई कस्तो बनायो होला ? सानो बालकको मानसपटलमा आमा कसरी बसिन् होला ?
जाडो महिनामा म कामबाट फर्किंदै गर्दा मेरी साथी छोरालाई घाममा राखेर बसेकी हुन्थिन् । म हतारहतार घरतर्फ पाइला चाल्दै गर्दा टाढैबाट उनलाई देख्थेँ अनि झन् आत्तिन्थेँ– साथीको छोराभन्दा दुई महिना मात्र जेठो हाम्रो छोरा घरको कुन कोठामा कसरी पो बसेको छ भनेर ।
जीत–हार ठूलो विषय होइन, जित्नुपर्छ । यस पटक नजिते पनि निरन्तर लागि रहनुपर्छ, लक्ष्य नभेटिँदासम्म । यहाँसम्मको नेपालको खेलकुदको इतिहासमा विभिन्न खेलमा अन्तर्राष्ट्रिय स्तरमै पनि महिला खेलाडीको सहभागिता भएकै हो तर तिनै महिला खेलाडीहरुले निरन्तरता पाएको देखिँदैन । तर, आयशा शाक्यले यो परंपरा तोडेकी छन् ।
र, त्यहीँबाट मेरा पाइला जोडतोडले कुद्न थाल्थे । मैले छोरालाई एकछिन् छोड्दा मातृवात्सल्यले यसरी भिजाउँथ्यो । सागको बन्द प्रशिक्षणमा रहँदा आयशाले दुई वर्षीय छोरालाई कसरी छाडिन् होला ? उनको मातृवात्सल्यलाई राष्ट्रलाई पदक दिलाउने अभिभाराले कसरी उछिन्यो होला ? सम्झनाले मात्र पनि मन जुरुक्क हुन्छ ।
चलिरहेको सागमा धेरै महिलाहरू सहभागी छन् तर खेलको सुरुवातमै आयशाले दुई स्वर्ण जित्नु चर्चा र प्रेरणाको विषय बन्न पुगेको छ । आयशाले पदक जितिरहँदा कसैले २ सन्तानकी आमाले पदक जितिन् भने, कसैले खेलाडी आयशाले पदक जितिन् भने तर जे होस्, आयशा दुई सन्तानकी आमा हुन् जसले प्रेम, स्नेह, बात्सल्यलाई केही समय पन्छ्याएर पदक जितिन् ।
यहाँनिर महत्त्वपूर्ण कुरा के भने, सबै स्थानमा समानताको नारासँगै समावेसितालाई चर्को रूपमा उठाउने तर कामभन्दा कुरै मात्र  धेरै गरेरै भए पनि ‘एक्स्पोज’ हुन खोज्ने, घर परिवार र बालबच्चालाई अगाडि तेस्र्याएर काम नभ्याएको विषय प्रस्तुत गर्नेलाई यो पक्कै पनि पे्ररणाको विषय हो । आफन्त, इष्टमित्र भन्दै आफ्नो जिम्मेवारी पूरा गर्न अलमलमा परी धैर्य गुमाउने हाम्रा लागि यो निकै प्रेरणादायी पाठ हो । सागमा थुप्रै महिला दिदीबहिनीहरूले भाग लिइरहेका बेला आयशा शाक्य प्रेरणाकी पुञ्ज बनेकी छन् ।
कुनै पनि विषय प्रारम्भ गर्नु सुखद हो । त्यसमा पनि अनेक बाधा र समस्याका बीच महिला अग्रसर हुनु झनै सुखद हो । यद्यपि, प्रतियोगितामा भाग लिएर जित्नै पर्छ भन्ने हुँदैन तर पनि जित्नै पर्ने दबाब र चाहना हरेकमा हुन्छ । स्वर्ण नहुँदा रजत या कास्यमै पनि मन बुझाउनै पर्छ तर त्यो पनि नहुने संभावना रहन्छ । झण्डा बोकेर देशको प्रतिनिधत्व गर्ने हरेक राष्ट्रभक्त देख्दा गौरवले छाती फुल्छ र आँखामा आँसु भरिन्छ ।
भलिबलमा स्वर्ण गुमाउँदाको पीडा सबैको आँखामा छचल्किरहेको छ । सागमा मात्र होइन, आफ्नो लगनले आफू र राष्ट्रका निम्ति समर्पित भएर लागिरहने हरेकले हामीलाई प्रेरणा दिन्छन् । अझ महिलाको हकमा त यो विषय निकै चासोयुक्त हुन्छ ।
दुई बालककी आमा आयशाले जितेका दुई स्वर्ण पदकको चर्चाले तयार भएको यो लेख सागमा समर्पित सम्पूर्ण महिलाहरूका लागि ।
जीत–हार ठूलो विषय होइन, जित्नुपर्छ । यस पटक नजिते पनि निरन्तर लागि रहनुपर्छ, लक्ष्य नभेटिँदासम्म । यहाँसम्मको नेपालको खेलकुदको इतिहासमा विभिन्न खेलमा अन्तर्राष्ट्रिय स्तरमै पनि महिला खेलाडीको सहभागिता भएकै हो तर तिनै महिला खेलाडीहरुले निरन्तरता पाएको देखिँदैन । तर, आयशा शाक्यले यो परंपरा तोडेकी छन् ।
आयशाकोे जीत उनको जीत मात्र होइन, खेलमा लागेका सम्पूर्ण महिलाहरुका लागि ऊर्जा र आँट हो अनि खेलकुदमा लागेका र लाग्न खोज्ने छोरीहरूका प्रत्येक परिवारका लागि प्रेरणा हो ।
यो अवस्थाको अनुसरण गर्दै युवावस्थामा सागका माध्यमबाट खेलमा समर्पित प्रिय महिला खेलाडिहरूका पाइला आगामी दिनमा ओलम्पिक जित्नतर्फ लम्कियून् । सामाजिक परिवेशमा आफूलाई समाहित गर्दै जाँदा विवाह र सन्तानप्राप्तिपछि पनि परिवारलाई वाधा र जिम्मेवारीका रूपमा मात्र नलिई हौसला, प्रेरणा र ऊर्जा ठान्दै निरन्तर लक्ष्यमा पुग्न हिँडिरहून्, शुभकामना ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages