खै कहाँ छ शान्ति ? - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Sunday, September 20, 2020

खै कहाँ छ शान्ति ?

 हो, हामीकहाँ दशक लामो सशस्त्र हिंसा अन्त्य भएको छ। तर, असमान शक्ति सम्बन्धका आधारमा निर्मित अनेक यस्ता हिंसा छन्, जो भविष्यमा अर्को हिंसा जन्माउन कारक बन्न सक्छन्। २१ सेप्टेम्बर विगत तीन दशकदेखि ‘अन्तर्राष्ट्रिय शान्ति दिवस’का रूपमा मनाइँदै आएको छ। विशेषतः संयुक्त राष्ट्रसंघद्वारा सशस्त्र संघर्षको अन्त्यलाई शान्तिको आधार मान्दै यो दिवस मनाउन थालिएको हो।


अन्य दिवस झैं यो दिवसमा पनि संसारभर शान्तिका लागि भाषण गरिन्छ, ठूला–ठूला प्रतिबद्धता गरिन्छ तर पनि विश्वमा शान्ति स्थापित हुनुभन्दा अशान्ति बढेर गइरहेको छ ? आखिर यस्तो किन ? अहिलेको अहम् प्रश्न यही हो। 


शान्तिको अर्थ


शान्तिलाई सबैले आ–आफ्नै तरिकाले परिभाषित गर्दछन्। सुन्दा सहज लाग्ने तर बुझ्न, बुझाउन कठिन अवधारणा भए तापनि प्रायः शान्ति भन्नाले सबै खाले हिंसाको अन्त्य वा न्यूनीकरणको अवस्था भनी मान्न सकिन्छ। यसका साथै शान्ति भन्ने बित्तिकै अहिंसात्मक तथा सिर्जनशील तवरले द्वन्द्व रूपान्तरण भएको वा हुनसक्ने अवस्था हो भनी व्याख्या गरिन्छ। 


सशस्त्र द्वन्द्व आफैं जन्मँदैन। यो विभेद, गरीबी, अन्याय र अत्याचारको परिणाम हो। यस्तो लेखिरहँदा मलाई २०६० सालतिर हामीले प्रहरीबाट जोगाएर ल्याएकी ११ वर्षीया विश्वकर्मा थरकी बालिकाको सम्झना आइरहेको छ। 


ती बालिका हिंसारत तत्कालीन माओवादी पार्टीको सांगीतिक क्षेत्रमा कार्यरत रहिछन्। उनलाई प्रहरीले भेटेर केरकार शुरू गरेछ। यो थाहा पाएपछि हामीले उनलाई लिएर आयौं। 


करीब एक वर्ष हामीसँग बस्दा उनको कथा सुन्ने मौका मिल्यो। उनको परिवारमाथि त्यही गाउँका धनी र उपल्लो जातिले गरेको शोषण, उनीमाथि पनि भएको यौन शोषण सुनिरहँदा हामी सबैको मन पग्लेको थियो। 


मलाई लाग्छ, एक वर्षपछि उनी फेरि माओवादी आन्दोलनमै सामेल भइन्। उनी बारम्बार भन्थिन्, “मलाई केही चाहिन्न, म मेरो बुवालाई दुःख दिने, कुट्ने र मलाई यौन शोषण गर्नेहरूलाई मार्छु, त्यसपछि बरु जिन्दगीभर जेल बस्न तयार छु।” 


यी बालिकाको दृष्टिबाट हेर्ने हो भने शान्ति भनेको सशस्त्र द्वन्द्वको अन्त्य मात्रै होइन। वास्तविक शान्ति त विभेद, पीडा, शोषणको अन्त्यसँगै सुरक्षित भई बाँच्न पाउने अवस्था हो। 


शान्तिका विषयमा सोच्दा मलाई सन् २०१२ मा टर्कीमा भएको एशोसिएसन अफ वुमन्स राइट्स इन् डेभलपमेन्ट (एडब्ल्यूआईडी) को अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी प्यालेस्टिनी १९ वर्षीया किशोरीको भनाइ सधैं दिमागमा आइरहन्छ। 


शान्ति भनेको अस्त्र÷शस्त्र परित्यागको स्थिति हो, सशस्त्र द्वन्द्वको अन्त्य हो भन्ने अधिकांशको भनाइप्रति आपत्ति जनाउँदै ती किशोरीले भनेकी थिइन्, “म जस्तो व्यक्ति जसको जन्म नै बन्दूकको आवाज सुन्दै भयो, जो अहिले पनि त्यही आवाज सुन्दै हुर्किरहेकी छु, मलाई बन्दूकले नै सुरक्षाको अनुभूति दिन्छ। जबसम्म म आफ्नो देश प्राप्त गर्न सक्दिनँ तबसम्म मेरा लागि शान्तिको माध्यम यही बन्दूक हो।” 


‘शान्तिको अर्थ हतियार प्रयोगको अन्त्य नभई न्याय प्राप्त गर्ने वातावरण’ भएको श्रीलंका, भारतका उत्तरपूर्वी प्रदेश, कश्मिरका महिलाहरूले भनेको पनि मैले पटकपटक सुनेकी छु। 


नसकिएको हिंसा



के हाम्रो देशमा शान्ति स्थापना भइरहेको छ त ? के हामी साँच्चै बुद्धभूमिका शान्तिप्रिय नेपाली नै हौं त ? आज अन्तर्राष्ट्रिय शान्ति दिवसको सन्दर्भमा म यही कुरा मनन् गरिरहेकी छु। 


 शान्तिका लागि काम गर्ने इन्टरनेशनल अलर्ट नामक संस्थाका अनुसार– शान्ति भनेको त्यो स्थिति हो जहाँ व्यक्तिहरू आफूभित्र रहेका द्वन्द्व हिंसा विना नै सुल्झाउन सक्दछन् र आपसमा सुमधुर सम्बन्धका साथ जीवनको गुणस्तर उकास्न काम गर्न सक्दछन्। 


संस्थाका अनुसार, यसका लागि  निम्न स्थिति आवश्यक हुन्छः


● शक्तिः घर, परिवार, समाज र देशको राजनीतिक निर्णयहरूलाई प्रभावित गर्न सक्ने र आकार दिन सक्ने शक्ति।


● आय एवं स्रोत माथिको समानताः सम्पत्ति (व्यक्तिगत, प्रकृतिगत एवं राष्ट्रिय), रोजगारी जस्ता विभिन्न आयका स्रोतहरूमा समान अधिकारका साथ जीवनयापन गर्न सक्ने अवस्था।


● निष्पक्ष कानून र न्यायपूर्ण न्यायः कानूनका नजरमा सबैको समानता, विश्वसनीय एवं पहुँचयोग्य न्याय प्रणाली। 


हाम्रो समाजमा महिला पुरुष बीच असमान शक्ति सम्बन्ध छ। यस्तै सम्बन्ध दलित–गैरदलित, अपाङ्गता भएका व्यक्ति र नभएका, यौनिक एवं लैंगिक अल्पसंख्यक जस्ता विभिन्न समूहका बीच पनि स्थापित छ। असमानताको भार बोक्ने व्यक्ति वा समूहलाई शारीरिक, मानसिक र सामाजिक लगायत विभिन्न तवरले विभेद गरिएको छ, प्रभावित पारिएको छ। 


यस्ता असमान शक्ति सम्बन्धबाट किचिएका हामीलाई शान्ति केवल भाषण अनि परियोजनामा गुथिएका फूल जस्तै हुन्। यी फूल जो देख्दा सुन्दर र प्रिय लाग्छन् तर, जीवन परिवर्तन गर्न भने सक्दैनन्।


प्रष्टसँग भन्दा हाम्रो घर, परिवार, समाज र राज्य कुनै पनि संस्थाले शान्ति प्रवर्धन गर्न सकेका छैनन्। हामीकहाँ हिंसा, विभेद कायम छ। स्रोतको न्यायपूर्ण विभाजन हुनसकेको छैन। न्याय प्रणालीमा अनेकन् प्रश्नवाचक चिह्न लागेका छन्। यस्तो अवस्थामा बाँचेका हामीलाई शान्ति कहाँ छ ? 


कोरोनाभाइरसको कहरले पनि हामीलाई विभेदको खाडल छर्लङ्ग देखाइदिएको छ।


सडकमा काम गरेर परिवार पालिरहेका मजदूरहरू, सुकुम्बासी वस्तीका जनता, ज्यालादारीमा काम गरेर परिवार पाल्न बाध्य व्यक्तिहरूको दुव्र्यवहार, हेला जस्ता अनगिन्ती यथार्थहरूले के हामीलाई शान्तिको अनुभूति दिलाएको छ ? के हामी आफूलाई बुद्धको देश, शान्तिप्रिय देश भन्ने अधिकार राख्दछौं ? 

अहिले देशैभर विभिन्न रूप र प्रकारले दलितहरू माथि भइरहेका अपराध, महिलामाथिको शोषण र हिंसा, वैदेशिक रोजगारमा रहेका र नेपाल आउन छट्पटाएकाहरूको पीडा, वैदेशिक रोजगारीबाट फर्केका महिलाहरू लक्षित लाञ्छना नै हेरौं। 


सडकमा काम गरेर परिवार पालिरहेका मजदूरहरू, सुकुम्बासी वस्तीका जनता, ज्यालादारीमा काम गरेर परिवार पाल्न बाध्य व्यक्तिहरूको दुव्र्यवहार, हेला जस्ता अनगिन्ती यथार्थहरूले के हामीलाई शान्तिको अनुभूति दिलाएको छ ? के हामी आफूलाई बुद्धको देश, शान्तिप्रिय देश भन्ने अधिकार राख्दछौं ? 


नर्वेजियन समाजशास्त्री योहान ग्याल्ताङको शब्दमा हामीले देख्ने अनि अनुभव गर्ने हिंसा (सशस्त्र वा महिलामाथि हुने हिंसा, जसको अन्त्य भएको स्थितिलाई हामी शान्ति मान्दछौं) संरचनागत एवं सांस्कृतिक हिंसाका परिणाम हुन्। संरचनागत हिंसा, सामाजिक संरचनाको आधारमा जन्मन्छ, हुर्किन्छ अनि फस्टाउँछ। 


यस्तो हिंसा सधैं गर्छु भनेर गरिएको हुँदैन तर परिणाम हिंसात्मक हुन्छ। उदाहरणका लागि हाम्रै देशमा ‘महिला अधिकार धेरै भइसक्यो, महिला भएपछि सहनुपर्छ’ भनिनू कानूनमा भए पनि मन्त्रिमण्डलमा समेत ३३ प्रतिशत महिला नहुनु, सरकारी पदमा अधिकांश प्रमुख पुरुष हुनु, सबैजसो मञ्चहरूमा पुरुष बहुल देखिनु जस्ता व्यवहारलाई लिन सकिन्छ। यस्ता संरचनागत हिंसालाई सांस्कृतिक हिंसाले बढावा दिन्छन्, पालनपोषण गर्दछन्। 


संस्कारमै महिला दोस्रो दर्जाको हुने मान्यता स्थापित गराउनु, महिलाको कामको विभाजन गर्नु, महिलाको यौनिकता एकै प्रकारको हुनुपर्छ भन्ने मान्यतालाई पनि यही दृष्टिबाट हेर्न सकिन्छ। 


त्यसैले वास्तविक अर्थमा शान्ति कायम गर्ने हो भने हामीले हिंसाका जड यिनै परम्परागत सामाजिक र सांस्कृतिक मान्यताहरू परिवर्तन गर्नुपर्दछ। संस्कृतिका रूपमा स्थापित विभेदपूर्ण व्यवहारको अन्त्य गर्नुपर्छ। 


जोखिमको संकेत


शान्ति स्थापनाको यात्रामा हामी नेपालीले केही सकारात्मक अभ्यास गरेका छौं। दशक लामो सशस्त्र द्वन्द्वको अन्त्य गर्दै हामीले लोककल्याणकारी राज्य र त्यसलाई हाँक्ने शासकीय पद्धति संविधान निर्माण प्रक्रियाको क्रममै आत्मसात् गरिसकेका छौं। 


के हामी शान्ति प्रक्रियाको सफलतामा सही दिशामा अग्रसर छौं ? शान्तिका खातिर हाम्रो न्याय प्रणाली राजनीतिक दल, न्याय प्रणाली, संघ–संस्था, मानवअधिकारकर्मी, सञ्चारमाध्यम जस्ता सामाजिक शक्ति केन्द्रले संविधानको मर्म अनुसार कारबाही गरिरहेका छन् त ? घटनाक्रम हेर्दा अवस्था सन्तोषजनक देखिन्न। 

हामी यतिबेला सशस्त्र द्वन्द्वलाई रूपान्तरित गर्दै शान्ति निर्माणको प्रक्रियामा छौं। यो प्रक्रियालाई सफलताका साथ सम्पन्न गर्ने हो भने सशस्त्र द्वन्द्व जन्माउने तत्वहरूलाई सम्बोधन गर्न घर, परिवार र राज्य संयन्त्रको रूपान्तरित एवं व्यवस्थापन अत्यावश्यक छ। 


के हामी शान्ति प्रक्रियाको सफलतामा सही दिशामा अग्रसर छौं ? शान्तिका खातिर हाम्रो न्याय प्रणाली राजनीतिक दल, न्याय प्रणाली, संघ–संस्था, मानवअधिकारकर्मी, सञ्चारमाध्यम जस्ता सामाजिक शक्ति केन्द्रले संविधानको मर्म अनुसार कारबाही गरिरहेका छन् त ? घटनाक्रम हेर्दा अवस्था सन्तोषजनक देखिन्न। 


सत्य त के हो भने, हामीकहाँ सशस्त्र द्वन्द्व अन्त्य भएको छ। तर, हामी धेरै खाले हिंसात्मक द्वन्द्वमा बाँच्न बाध्य छौं। यो अशान्तिले हामीलाई जारी शान्ति प्रक्रिया पूर्ण शान्तिमा रूपान्तरित हुनुअघि नै अर्को द्वन्द्व शुरू हुने त होइन भन्ने जोखिमको संकेत गरेको छ। 


त्यसैले शान्ति दिवसको यो घडीमा हामीले समयमै सचेत हुँदै शान्ति प्रक्रियालाई दिगो शान्तिमा रूपान्तरित गर्न आफ्नो व्यवहार, कार्य र सोच परिवर्तन गर्न प्रतिबद्ध हुनुपर्छ। अन्यथा, शान्ति हाम्रा लागि सधैंको मृगतृष्णा बन्न सक्छ। 


No comments:

Post a Comment

Post Bottom Ad

Pages