आज योमरी पुन्ही : प्रेम र खाद्य विज्ञानसँग जोडिएको संस्कृति - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Tuesday, December 29, 2020

आज योमरी पुन्ही : प्रेम र खाद्य विज्ञानसँग जोडिएको संस्कृति

 १५ पुस, काठमाडौं । यःमरि च्वामु,उकिइ दुने हामु, व्युम्ह ल्यासे, मब्युम्ह सितिकुती बुढी…

अर्थात् चुच्चो यःमरिभित्र तिल छ, दिए तरुनी हुन्छ्यौ, नदिए कुप्री चाउरी हुन्छ्यौ !




यो गीत पहिले–पहिले भक्तपुर क्षेत्रमा गाउने गरेको योमरी पुन्हीको विशेष गीत हो ।

भक्तपुरका संस्कृतिविद् विनोदराज शर्माका अनुसार पहिले–पहिले योमरी बनाउने घरमा योमरी माग्नका लागि युवायुवतीहरूको भिड लाग्थ्यो ।

माथि उल्लेखित गीतमा भनिए जस्तै तरुनी हुने ध्यानमा योमरी दिन बाहिर निस्कँदा धेरै किशोर किशोरीहरूको प्रेमसमेत बस्ने गरेको उनी सुनाउँछन् ।

धेरैको दाम्पत्य जीवन योमरीबाटै जोडिएको छ, कतिको सामाजिक सद्भाव कायम भएको छ । योमरी देख्दा सामान्य किसिमको एउटा खाद्य परिकार भए पनि यसको ऐतिहासिक एवं सांस्कृतिक महत्व छ ।

नेवारी समुदायको एउटा विशिष्ट खाद्य परिकारका रुपमा चिनिने योमरी जाडोको स्वादिष्ट खाद्य परिकार हो । योमरी बनाउने पाक कलासँग जोडिएका कथाहरू निकै रोचक छन् ।

रत्नाबदान बुद्ध वचन नामक पुस्तकमा उल्लेख भएको कथाअनुसार पाञ्चाल देश (हालको पनौती) का एक दानी एवं धर्मात्मा सुचन्द्र महाजन दम्पती बस्थे । एक दिन कुबेरलाई उनको स्वभावको परीक्षा लिन मन लागेछ र भेष बदलेर तिनै दम्पतीको घरमा पुगे ।

घरमा पुगेपछि ती दम्पतीले चामलको पिठोबाट तयार पारिएको पौष्टिकता युक्त योमरीले कुवेरको स्वागत गरे । महाजनको स्वागतले सन्तुष्ट भएका कुवेरले धानको भकारीमा योमरीसहित कुवेर र गणेशको बाहनलाई पूजा गर्ने विधि बताएर अन्तरध्र्यान भए ।

कुवेरले सिकाएअनुसार नै दम्पतीले योमरी बनाएर भकारीमा राखेको धानभित्र चार दिनसम्म राखे । चार दिनपछि योमरी निकालेर प्रसादका रूपमा खाए । चार दिनसम्म पूजा गरेपछि केही योमरी रधान चामलहरु गरिबलाई दान पनि दिए । चौथो दिन आफ्ना छोरीचेलीलाई समेत बोलाएर योमरी खुवाउँदा धनधान्यले भरिपूर्ण भएको र जाडोमा देखिने कुनै पनि स्वास्थ्य समस्या नदेखिएपछि सोही समयदेखि योमरीलाई धान्यदेवीको रूपमा पूजा गर्न थालियो भन्ने मान्यता रहेको छ ।

योमरीको विषयमा अर्को एउटा कथा पनि प्रचलनमा छ । योमरी पहिलो पटक नेवाःहरूले नै बनाएका थिए । परापूर्वकालमा काठमाडौंको मुख्य खाद्यबालीको रूपमा चामल थियो । काठमाडौंकै एक दम्पतीले आफूले उत्पादन गरेको अन्न प्रयोग गरेर योमरी बनाउने निर्णय गरे ।

जाडो मौसम थियो । शरीरलाई तातो बनाउनका लागि चाकु पनि त्यसमा राखियो ।  समुदायका लागि छुट्याएको एक भाग अन्न र योमरी ती दम्पतीले आफ्ना छिमेकीलाई पनि दिए । यसैबाट योमरी बनाएपछि छिमेकीलाई बाँड्ने चलन चल्यो । यसरी योमरी माग्ने र बाँडेर खाने चलनको विकास हुँदै गयो भन्ने अर्को विश्वास छ ।

देवीदेवताहरूलाई समेत योमरी चढाउने चलन छ । योमरीबाट राम्रो अन्न उत्पादन र समृद्धिका लागि धान्यदेवीको आराधना गर्ने परम्परा रहेको संस्कृतिविद् विनोदराज शर्मा बताउँछन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages