अहिलेको सत्तासँग घनश्याम राजाको जस्तो विवेक छैन - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Tuesday, December 29, 2020

अहिलेको सत्तासँग घनश्याम राजाको जस्तो विवेक छैन

 १४ पुस, पोखरा । सक्रिय राजनीति गरिरहेका चन्द्रप्रकाश बानियाँ एकाएक राजनीतिबाट टाढिए । राजनीतिलाई चटक्कै छाडेर गुमनामजस्तै बने । उनै बानियाँ ३ दशकपछि एकाएक चर्चामा आए तर फरक क्षेत्रबाट ।

पोखरामा गुमनाम जीवन बाँचिरहेका बानियाँ खोजीका पात्र बने । साहित्यको पहिलो कृतिले नै देशकै प्रतिष्ठित मदन पुरस्कार पाएपछि उनी चर्चाको शिखरमा पुगे ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि डाक्टरकै सल्लाहमा जीवन लम्ब्याइरहेका बानियाले किन राजनीतिलाई चटक्कै छाडे त ? पत्रकार बानियाँले लेखक बानियाँसँग प्रसंग जोडे ।

पोखरामा सुरु भएको नेपाल लिटरेचर फेस्टिभलको दोस्रो सत्रमा उनै लेखक चन्द्रप्रकाशसँग पत्रकार राजकुमारले संवाद गरे । लेखक बानियाँले राजनीति छोड्नुको कारण जोडे, ‘म चमत्कारमा विश्वास गर्दिनँ । ३० वर्षदेखि मस्तिस्कमा क्यान्सर लिएर बाँचेको छु तर उपचार गर्ने डाक्टरको मृत्यु भयो ।’

राजनीति छाडेर कुनै पश्चाताप नभएको लेखक बानियाँले बताए । राजनीतिमा हुने जति अर्को क्षेत्रमा लागे पनि भइराखेको उनको भनाइ थियो । ‘राजनीति गरेको भए मन्त्री नै हुन्थें होला । मन्त्री हुनु भनेको गाली नै त खाने हो । त्योभन्दा केही हुने थिएन ।’

महारानी उपन्यासको पात्र र पर्वत राज्यको प्रसंग जोड्दै लेखक बानियाँले तत्कालीन राज्य र राजासँग अहिलेको सत्ताको तुलना नै नहुने बताए । उपन्यासमा घनश्याम राजालाई प्रतापी र न्यायका रुपमा बानियाँले प्रस्तुत गरेका छन् । त्यही कुरालाई पत्रकार बानियाँले प्रसंग उठाए ।

‘घनश्यामसँग अहिलेको सत्तासँग तुलना नै हुँदैन । जनपक्षीय सरकार हुनुपर्छ भन्ने घनश्यामसँग तुलना हुँदैन । कानुन राजाको मुखमा हुन्थ्यो, जसलाई जे पनि दिन सक्थ्यो तर धेरै विचार पुर्याउँथे,’ लेखक बानियाँले भने, ‘घनश्याम राजाकोजस्तो विवेक अहिलेको सत्तासँग छैन ।’

पहिलो संविधान सभापछि दोस्रो संविधान सभामा परम्परागत शक्तिलाई नै जिताएर जनताले गल्ती गरेको उनको भनाइ थियो । ‘पहिलो संविधान बन्यो, सिंगो नेपाल त्यहाँ प्रतिनिधित्व थियो । संविधान दिने बाटोमै थियो । त्यो कसैलाई पचेन । त्यसलाई मारिएकै थियो । दोस्रो संविधानसभामा जनताले गल्ती गरे । परम्परागत शक्तिलाई जिताएर हामीले गल्ती गर्यौं,’ लेखक बानियाँले भने, ‘संविधान त आयो तर केही राम्रा कुरा आए । नकारात्मक दृष्टिकोण राख्नेलाई शक्तिमा पुर्यायौं । अहिले त्यसको परिणाम देखिएको छ ।’

लेखक बानियाँले महारानी लेखन र पुरस्कारका वरिपरि रहेर झण्डै एक घण्टा संवाद गरे । यसपटकको मदन पुरस्कार बिजेता महारानीका लेखक बानियाँलाई कस्तो लाग्यो ? किन पुरस्कार पाएपछिमात्रै चर्चा, प्रशंसा र खोजी भयो ? पत्रकार बानियाँले उधिने ।

‘पोखरामा अपरिचित थिएँ । महारानी पोखरामै लेखिएको तेस्रो किताब हो । पोखरालाई हर्ष र बिस्मात थियो । यो मान्छे कहाँ बस्छ भन्ने थाहा नै थिएन,’ बानियाँले भने, ‘म अहिले पनि पोखराका लागि गुमनाम छु ।’

गुमनाम बस्न रुचाउने बताउँदै लेखक बानियाँले महारानी पोखरामै बसेर लेखिएको तेस्रो किताब भएको बताए । महारानीले मदन पुरस्कार कसरी पायो भन्ने कुरामा आफू नै चकित भएको उनको भनाइ थियो ।

किताब लेखेरै नेपालको सन्दर्भमा बाँच्न पनि गाह्रो हुने अवस्था रहेको बानियाँले बताए । ‘नेपालको सन्दर्भका लेखेर धनी हुन त परै जाओस् बाँच्न पनि गाह्रो छ । महारानीले भारतमै पुरस्कृत भएको भए अर्कै हुन सक्थ्यो,’ बानियाँले भने, ‘नेपालको सन्दर्भमा त्यस्तो छैन ।’

आफ्नो किताब कति निस्क्यो, कति बजारमा गयो, कति पटक छापियो भन्ने आफूलाई कुनै जानकारी नभएको बानियाँले सुनाए । ‘यो किताबबाट लेखक भएर प्रकाशन गृहबाट पैसा लिएर एक छाक भात पनि खाएको छैन,’ उनले सुनाए ।

महारानी र भौजाहासँगै प्रकाशनमा पठाए पनि महारानी पहिले प्रकाशन भएको उनले बताए ।

खुद्रा मसिना कुनै पनि पुरस्कार नपाइ मदन पुरस्कार पाएपछि चर्चा र प्रशंसा बटुलेको प्रसंग सहजीकरण गरिरहेका राजकुमारले कोट्याए । लेखक बानियाँले मुख्य दुई कुरामा रहेर किताब लेखिने बताए ।

‘एउटा रहरले लेख्न थाल्छ र त्यो बानीमा परिणत हुन्छ र लेखक बन्छ । अर्को मान्छेले प्रशस्त अध्ययन गर्छ, ज्ञान संकलन गरिन्छ र ज्ञानले किताबको रुप लिन्छ,’ लेखक बानियाँले भने, ‘मसँग यो दुवै कुरा छैनन् । म फाट्टफुट्टमात्र लेख्छु ।’

लेखक बानियाँले भावी पुस्तालाई आफूले सुन्दै आएको इतिहास हस्तान्तरण गर्न महारानी लेखेको बताए । आफूसँग पर्वत राज्यको इतिहासका थुप्रै सामाग्री भएको र नयाँ पुस्ताले थाहा पाउनुपर्छ भनेर लेखेको सुनाए ।

‘इतिहासका ज्ञाताहरुले पनि लेखेनन् । म्याग्दीमा बसिरहेका हुनाले केही सामग्री खोजखन्तर पनि गरेको थिएँ । मैले सुन्दै र भन्दै आएको कथा भावी पुस्ताले पनि थाहा पाउनुपर्छ भनेर लेखें,’ बानियाँले भने ।

पर्वत राज्यमा महारानी देवीका रुपमा पुजिने तर उनी को थिइन् भन्ने थाहा नभकाले उन्यासमा त्यसको उत्खनन् गरेको बानियाँले बताए । ‘म्याग्दीको सन्दर्भमा चर्चित देवी पूजास्थल छ । दिनहुँ मान्छेहरुको भीड लाग्छ । देवी भनेर पुजिन्छ तर उनी देवी थिइनन् । रानी थिइन्,’ बानियाँले भने, ‘त्यही जानकारी दिन पनि महारानी लेखें ।’ लेखक बानियाँले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको भन्ने तथ्य गलत रहेको जिकिर गरे ।

उपन्यास श्वैरकल्पनामा भन्दा पनि इतिहासको नजिक रहेको उनले बताए । कथावस्तु र उपन्यासका ९० प्रतिशत मात्र इतिहासबाट लिइएको बानियाँले सुनाए ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages