बीपी राजमार्ग स्तरोन्‍नति : कतै अग्लो, कतै होचो दुर्घटनाको खतरा बढ्ने भन्दै स्थानीयले रोके काम - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Friday, December 25, 2020

बीपी राजमार्ग स्तरोन्‍नति : कतै अग्लो, कतै होचो दुर्घटनाको खतरा बढ्ने भन्दै स्थानीयले रोके काम

 सिन्धुली — सडक आयोजनाबाट भएको गलत इस्टिमेट र डिजाइनअनुसार काम हुँदा दुर्घटना निम्तिने र सडकको सुन्दरतासमेत गुम्ने भन्दै बीपी राजमार्गको थप कालोपत्रे गर्ने काम स्थानीयले रोकिदिएका छन् । सडकको चौडाइअनुसारको कालोपत्रेको काम नगरी चार मिटरसम्म खाली भाग रहने भएकाले दुर्घटना बढ्ने र सडकको सुन्दरतासमेत मासिने भएकाले निर्माण कार्य रोकेको स्थानीयले बताएका छन् । 

गोलन्जोर गाउँपालिका ५ को खनियाँखर्कमुनि इस्टिमेटअनुसार ५ मिटर मात्र कालोपत्रे गर्दा सडकको आधा भाग खाली रहेकाले रोक्न बाध्य भएको स्थानीयले बताएका छन् ।

आयोजनाको गलत इस्टिमेटका कारण सडक होचोअग्लो हुन गई दुर्घटना खतरा बढेकाले काम रोक्नु परेको स्थानीय हरि गजुरेलले बताए । कालोपत्रेमाथि थप गरी कालोपत्रे गर्दा सडकको चौडाइअनुसारको काम भएन्,’ उनले भने, ‘सडक होचो अग्लो भएको छ, कुरुप देखिएको छ ।’ ओभरटेक गर्दा होचोअग्लोमा परी दुर्घटनाको जोखिम उत्तिकै बढेको उनको भनाइ छ ।

इस्टिमेट सच्याएर पूरै सडकको चौडाइमा थप कालापत्रे गर्ने भएपछि काम सुरु गर्न दिने स्थानीयको भनाइ छ । ‘बीपी राजमार्गमा यातायातको चाप थामिनसक्नु छ, सडकको चौडाइ घुम्तीको कारणले गर्दा सानो छ,’ अर्का स्थानीय रामहरि थापाले भने, ‘चारपाँच मिटरदेखि ९ मिटरसम्म भएको चौडाइमा आधा सडक अग्लो र होचो हुँदा के हालत होला?’ यस्तो काम गराउन खोज्ने प्राविधिकलाई कारबाही गर्नुपर्ने उनले माग राखे ।

एउटै प्याकेजमा दुईथरी कामको इस्टिमेट भएको छ । यसअघि कालोपत्रे भइसकेको सडकमा चौडाइ पूरै लिइएको छ । सिन्धुलीमाढीदेखि खुर्कोटसम्मको ३९ किमी सडकमध्ये प्याकेज बनाएर ३६ किलोमिटर ओभरलेको काममध्ये साढे ११ किलोमिटरको काम सम्पन्न भइसकेको छ । पिपलभञ्ज्याङदेखि खनियाँखर्कसम्म ओभरेलेको काम पूरै चौडाइ लिएर काम भएकोमा बाँकी काममा भने इस्टिमेटअनुसार भन्दै पाँच मिटर मात्र गर्न लागिएको हो । अहिले भइरहेको सडकमा दुई इन्च कालोपत्रे थप गरी ओभरलेको काम हुनेछ । सडक आयोजनाका प्राविधिक रमेश आचार्य इस्टिमेटमा पाँच मिटरको मात्र रहेको र पूरै चौडाइ लिनका लागि औसतमा ६ मिटर चौडाइ बनाउनु पर्ने बताउँछन् । सडकको पूरै चौडाइमा काम गर्दा लम्बाइ घट्ने भएकाले कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको प्राविधिक आचार्यले बताए ।

चार चरण बनाएर ठेक्का लगाई काम थालिएकोमा एक चरण सकिएको र तीन वटाको साढे २४ किलोमिटर ओभरलेको काम गर्न बाँकी छ । वल्र्डवाइड, जलुकेनी, कल्पवृक्ष जेभीले ओभरलेको ठेक्का पाएको छन् । प्राविधिक आचार्यका अनुसार प्रतिकिलोमिटर एक करोड रुपैयाँको हाराहारीमा निर्माण कम्पनीले ठेक्का सकारेका छन् । निर्माण कम्पनीको मेसिनमा खरावी आएको र स्थानीयले गरेको अवरोधका विषयमा आयोजना केन्द्रमा जानकारी गराइसकिएको उनको भनाइ छ ।

सडकको खाल्डाखुल्डीमा पुर्ने र कालोपत्रेको काम निर्माण कम्पनीले गर्नेछ । सडक आयोजनाका इन्जिनियर मोहन कायस्थले अवरोध खुलाएर काम सम्पन्न गर्नका लागि स्थलगत अनुगमन गरी आयोजना केन्द्रमा जानकारी गराएको बताए । चौडा सडक पहिलाको अनुसार नै थप कालोपत्रे नभए दुर्घटनाको जाखिम रहने उनले स्वीकार गरे । ५ देखि ९ मिटरसम्मको कालोपत्रे सडक पहिलाको भएकाले सोहीअनुसारको इस्टिमेट हुनुपर्ने उनको राय छ । उनी भन्छन्, ‘पहिला नै ५ मिटरको कालोपत्रे गर्ने भनेर इस्टिमेट गरी टेन्डर निकाल्नु नै गलत थियो ।



No comments:

Post a Comment

Post Bottom Ad

Pages