अप्टिकल फाइबर परियोजना : सकिनुपर्ने बेलामा २२ प्रतिशत प्रगति - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Tuesday, December 29, 2020

अप्टिकल फाइबर परियोजना : सकिनुपर्ने बेलामा २२ प्रतिशत प्रगति

 काठमाडौँ — दुई वर्षमा सक्ने भन्दै सुरु भएको देशैभर अप्टिकल फाइबर बिछ्याउने परियोजना सकिनुपर्ने बेलासम्म पनि निकै सुस्त छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको प्रगति प्रतिवेदनअनुसार मध्यपहाडी लोकमार्ग हुँदै सबै जिल्ला सदरमुकाममा अप्टिकल फाइबर बिछ्याउने परियोजनाको भौतिक प्रगति मंसिरसम्ममा २२ प्रतिशत मात्रै छ ।


काम सुरु गरेको दुई वर्षसम्म सक्ने गरी प्राधिकरणले तीन वटा टेलिकम सेवा प्रदायकलाई ३ वटा परियोजनाको जिम्मा दिएको भए पनि नेपाल टेलिकमले मात्रै काम सुरु गरेको छ । अन्य दुई परियोजनाको भौतिक प्रगति शून्य छ । सूचना महामार्गको पहिलो प्याकेजअन्तर्गत नेपाल टेलिकमले प्रदेश १ देखि वाग्मतीसम्मका जिल्ला सदरमुकाम छुने गरी अप्टिकल फाइबर बिछ्याउने कामको जिम्मा पाएको थियो । टेलिकमले विभिन्न कम्पनीलाई यो कामको जिम्मा दिएको भए पनि १७ महिना बित्दा पनि परियोजनाको प्रगति २२ प्रतिशत मात्रै छ । मध्यपहाडी लोकमार्ग हुँदै सबै जिल्ला सदरमुकाम छुने गरी टेलिकमले २ हजार १ सय किलोमिटरभन्दा बढी अप्टिकल फाइबर बिछ्याउनुपर्ने भए पनि मंसिरसम्ममा जम्मा ४ सय ९१ किलोमिटर अप्टिकल फाइबर मात्रै बिछ्याइएको दूरसञ्चार प्राधिकरणले जनाएको छ । यसअघि कोभिड–१९ को प्रभाव देखाउँदै काममा ढिलासुस्ती भए पनि कामको गति बढाउन टेलिकमलाई निर्देशन दिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल बताउँछन् । ‘हामीले डेढ साताअघि पत्र लेखेर कामको गति बढाउन टेलिकमलाई निर्देशन दिएका छौं,’ उनले भने, ‘कोभिड–१९ को प्रभाव कम भएकाले हामीले गर्नुपर्ने सहजीकरण गर्छौं । तर कामको गति बढाउन भनेका छौं ।’

प्राधिकरणले दुई वर्षसम्म काम सक्ने गरी २०७३ असोज १२ गते टेलिकमलाई यो प्याकेजको ठेक्का बिनाप्रतिस्पर्धा दिएको थियो । टेलिकमले साढे दुई वर्ष लगाएर ठेक्का प्रक्रिया पूरा गरी २०७६ जेठ पहिलो सातादेखि अप्टिकल फाइबर बिछ्याउने काम सुरु गरेको थियो । अप्टिकल फाइबर बिछ्याउन, सामान खरिद गर्न टेलिकमले ५ वटा कम्पनीलाई जिम्मा दिएको छ ।

प्राधिकरणले प्याकेज ३ अन्तर्गत कर्णाली सुदूरपश्चिम प्रदेशमा पनि अप्टिकल फाइबर बिछ्याउन टेलिकमलाई नै जिम्मा दिएको छ । यसअघि स्मार्ट टेलिकम प्रालिलाई जिम्मा दिइएको भए पनि २ वर्षसम्म काम नै सुरु नगरेपछि मन्त्रिपरिषद्ले स्मार्टबाट परियोजना खासेर टेलिकमलाई दिने निर्णय गरेको हो । यो निर्णय भएको करिब एक वर्ष हुन लाग्दा पनि परियोजनाको ठेक्का लाग्न बाँकी छ । प्याकेज तीनअन्तर्गत १ हजार ९ सय ९२ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुपर्छ ।

टेलिकमले प्याकेज नम्बर ३ का लागि माइक्रोवेब ट्रान्समिसन नेटवर्क र एडीएसएस अप्टिकल फाइबर नेटवर्कका लागि बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अघि बढाएको भए पनि प्रक्रिया टुंगिएको छैन । प्याकेज २ अन्तर्गत कर्णाली र प्रदेश ५ का सबै जिल्ला सदरमुकाम छुने गरी प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेडलाई कामको जिम्मा दिएको भए पनि यसको प्रगति शून्य छ । यो प्याकेजअन्तर्गत २ हजार १ सय ६० किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुपर्ने भए पनि यो परियोजनामा हालसम्म कुनै प्रगति भएको छैन । काम सुरु नै नगरेको यो कम्पनीलाई प्राधिकरणले पेस्कीबापत ४० करोड रुपैयाँ भुक्तानी भने दिइसकेको छ ।

परियोजनाको ठेक्का पाएको दुई वर्षसम्म पनि कुनै काम नगरी बसेको युनाइटेडबाट प्राधिकरणले परियोजना खोस्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका कारण यो परियोजनाको विषयमा प्राधिकरणले कुनै निर्णय गर्न सकेको छैन । यो परियोजनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । प्राधिकरणले सूचना महामार्गका लागि कुल ९ अर्ब ८९ करोड रुपैयाँमा तीनवटा प्याकेजको सम्झौता गरेको छ ।

अप्टिकल फाइबर बिछ्याउने कम्पनीले नै त्यसको मर्मतसम्भार गर्ने र अन्य सेवा प्रदायकलाई भाडामा दिने गरी प्राधिकरणले अप्टिकल फाइबर बिछ्याउन जिम्मा दिएको हो । ग्रामीण दूरसञ्चार कोषको प्रयोग गरी सञ्चालित सूचना महामार्ग परियोजनामा यो कोषमा रकम जम्मा गर्ने सेवा प्रदायकहरूबीच प्रतिस्पर्धा गराइएको थियो । नेपाल टेलिकमलाई प्याकेज १ को जिम्मा दिँदा भने प्रतिस्पर्धा गराइएको थिएन । ग्रामीण क्षेत्रमा दूरसञ्चार पूर्वाधारको विकास गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको हो । दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकहरूले आफ्नो वार्षिक आयको २ प्रतिशत रकम यो कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ ।



No comments:

Post a Comment

Post Bottom Ad

Pages