केश फूलेपछि ड्रागन फ्रुट फलाउने हुटहुटी - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Sunday, December 27, 2020

केश फूलेपछि ड्रागन फ्रुट फलाउने हुटहुटी

 १३ पुस, चितवन । भरतपुर महानगरपालिका-७ कृष्णपुरका शम्भु सुवेदी (५९) ले चितवन भ्याली मोडल अस्पताल तथा चितवन एकेडेमीका प्रवन्ध निर्देशक बनेर काम गरे । दारी र कपाल फूलेरै सेतै भइसकेको बेला सुवेदीलाई एकाएक कृषि कर्म गर्ने जाँगर चल्यो । उनलाई ड्रागन फ्रुट फलाउने हुटहुटी भयो । त्यसैले अस्पतालको काम अरुलाई नै जिम्मा लगाएर अहिले उनी कृषि कर्ममा डटेका छन् ।

झट्ट हेर्दा आकर्षक पनि छ सुवेदीको सत्सेवेदा साइन्स एण्ड एग्रिकल्चर फर्म । उनले गत साउन महिनामा रोपेका ५ हजार ड्रागनका बिरुवा अहिले पोल उक्लिन थालेका छन् । एक हेक्टर जग्गामा चार जातका ड्रागनका विरुवा रोपेको सुवेदीले बताए । तीमध्ये तीनवटा रातो र एउटा सेतो प्रजातिका छन् ।


ड्रागन फ्रुटको बीचमा अन्तरबाली

सुवेदीले ड्रागन खेती लगाएको ठाउँको खाली जमिनको उपयोग अन्तरबाली लगाएर गरेका छन् । ड्रागन फ्रुटको बीचमा तोरी फूलेर पहेँलै भएको छ । आलु, प्याज, लसुन, मटरकोसा पनि लगाएका छन् । एक बोटबाट अर्को बोटको दूरी दुई मिटर र एक प्लटबाट अर्को प्लटको दूरी तीन मिटर छ ।


यहीँ खाली रहने जमिनमा गज्जबसँग अन्तरबाली लगाएर फाइदा लिन सकिने सुवेदीले बताए । ‘यो त मैले परीक्षण गरेको थिएँ, कस्तो हुन्छ भनेर,’ सुवेदीले भने, ‘निकै राम्रो र आकर्षक देखिएको छ, खाली जमिनमा यसरी अन्तरबाली लगाएर पनि उत्पादन लिन सकिने रहेछ भन्ने प्रमाणित भयो ।’ उनले बाँकी ठाउँमा चुकन्दर कुरिलो र इलामबाट मगाएको अकबरे खुर्सानी पनि लगाउने योजना बनाएका छन् ।

सुवेदीले ड्रागन खेतीका लागि २५ लाख रकम आफ्नो र १५ लाख सरकारी अनुदानको रकम खर्चिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले उनलाई सहयोग गरेको हो । उनले ड्रागनका बिरुवा मलेसिया, भारतबाट मगाएका हुन् । प्रतिबिरुवाको २५० देखि ५ सय रुपैयाँसम्म परेको छ । उनले ताइवान, भियतनाम, फिलिपिन्सबाटसमेत बिरुवा मगाएका छन् । बोरिङ खन्ने र थोपा सिंचाइको पाइप वायरिङ गर्न बाँकी छ । त्यसका लागि थप १०/१५ लाख खर्च लाग्ने उनको अनुमान छ ।

अहिले रोपिएका बिरुवाबाट डेढ वर्षमा व्यवसायिक उत्पादन सुरु हुने सुवेदीले बताए ।

‘मै बूढो तातेपछि युवाहरु आकर्षित हुन्छन् कि ?’

ओखलढुंगा पुरख्यौली घर भएका सुवेदीले लामो समय राजनीति पनि गरे । पछि अस्पताल खोलेर त्यसको प्रवन्ध निर्देशक बने । त्यसैले उनले कृषि कर्म गर्नेतिर ध्यान दिएनन् । उनी अब अस्पतालको काम अरुलाई नै जिम्मा लगाएर कृषि कर्ममा लाग्ने सोचमा छन् ।

खेतीयोग्य जमिन बाँझो भएको र युवाहरु कम पैसामा कडा श्रम गर्न विदेश गएकाले आफू कृषि कर्मतिर लागेको सुवेदी बताउँछन् । उनी भन्छन्, ‘दारी कपाल नफूलेका जोश र जाँगर अथाहा भएका युवा केही भएन भनेर विदेश गएका छन्, मै बूढोले गरेर देखाएपछि उनीहरु आकषिर्त हुन्छन्, केही सिक्छन् की भन्ने लागेको छ ।’


उनले अहिले भएको क्षेत्रलाई बढाएर १० हेक्टरमा पुर्‍याउने र विदेशबाट फर्किएका तथा स्वदेशमा नै केही गरौं भन्ने युवाहरुलाई सिकाउँदै अघि बढ्ने योजना बनाएको सुवेदीले बताए । सुवेदीकै चितवन एकेडेमी फर टेक्निकल एजुकेशनले कृषि र भेटनरी विषय पढाउने गरेको छ । त्यहाँ पढ्ने कृषिका विद्यार्थीलाई इन्टरप्रिनरसिप बनाउने गरी फार्मको प्रयोग गरिने सुवेदी बताउँछन् ।

‘कृषिलाई सपोर्ट गरौं, जमिन बाँझो नराखौं र केही न केही गरौं भन्ने सोचेर यता लागेको हुँ,’ सुवेदी भन्छन्, ‘एउटा परिवारका दुई-तीन जना व्यक्ति कृषि कर्ममा निस्किए भने महिनामा ६० हजारदेखि १ लाख सजिलै कमाउन सक्छन् भने विदेश किन जाने ? घर परिवारसँग किन नरमाउने ?’ एग्रो टुरिजमसँग यसलाई जोड्न सकिने सुवेदी बताउँछन् ।

सुवेदीले ६ जनालाई रोजगारीसमेत दिएका छन् । कामदारको अभाव पनि छैन । सुरुमा सहजै रुपमा ड्रागनको बिरुवा पाउन समस्या थियो अहिले त्यति समस्या छैन । सुवेदी आफैंले सानो स्केलमा नर्सरी पनि तयार गरेका छन् ।

स्याउको मूल्यसँग बराबर गर्ने योजना

ड्रागन फ्रुट खेती गर्न चाहने युवालाई फार्म डिजाइन, प्राविधिक सहयोग, तालिम लगायतका सबै सहयोग गरेर बाटो देखाइदिने सुवेदीले बताए । देशभरका व्यवसायिक ड्रागन खेती गर्ने किसानहरूको भेला गरेर समूह बनाएर आवश्यक सहयोगको आदानप्रदान गर्ने योजना पनि बनाएको सुवेदीले सुनाए ।

उत्पादित ड्रागन फ्रुट बिक्री नभए आफूहरुले बेचिदिने व्यवस्थासमेत मिलाउने योजना बनाएको सुवेदीको भनाइ छ । सुवेदीका अनुसार अहिले सेतो ड्रागन फ्रुटको बजार मूल्यप्रति केजी ६ सयदेखि १२ सयसम्म र रातोको ८०० देखि १५ सय केजीसम्म पर्न आउँछ । अहिलेको मूल्य आम सर्वसाधारण नागरिकका लागि महँगो भएकाले स्याउको भाउमा यसलाई ल्याउने गरी उत्पादन वृद्धि र लागत घटाउने उपायहरुको खोजी भैरहेको सुवेदीले बताए ।

ड्रागन फ्रुट खेती नेपालमा नयाँ भएकाले दक्ष जनशक्तिको पनि अभाव छ । यो बारेमा पढेको-जानेको जनशक्ति छैन । सुवेदीले चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयसँग मिलेर भियनतामको नेशनल रिसर्च सेन्टरले ड्रागन फ्रुटमा काम गर्न चाहेको बताए । विश्वविद्यालयसँग सहकार्य गर्ने व्यवस्थाका लागि लागेको उनको भनाइ छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages