कोरोनाले गलाएको जनस्वास्थ्य - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Tuesday, December 29, 2020

कोरोनाले गलाएको जनस्वास्थ्य

 पोखरा — नेपालमा कोरोना भाइरस महामारीले जनस्वास्थ्यको क्षेत्रमा नयाँ पाठ सिकाएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले बताएका छन् । बास्तोलाले नेपालमा कोरोना माहामारी व्यवस्थापनामा जति लगानी भएका छन् त्यसलाई लिपिबद्ध गरेर राख्नुपर्ने आवश्यकता औँल्याए ।

त्यसले अबको ५० वर्षपछि आउनसक्ने सम्भावित महामारीमा अहिलेका अभ्यास उपयोगी हुन सक्ने उनले बताए । नेपाल लिटरेचर फेस्टिभलको नवौँ संस्करणमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीले नेपालको जनस्वास्थ्यमा पारेको प्रभावको बारेमा छलफल भएको थियो ।

नेपालमा पहिलोपल्ट जनवरी १३ मा पहिलो कोरोना भाइरस संक्रमित भेटिएको थियो । त्यसपछिको केही समय शून्य संक्रमण भएको नेपालमा मार्च, अप्रिलको समयमा संक्रमितको सङ्ख्या ह्वात्तै उकालो लागको छ । कोरोनापछि नेपालको जनस्वास्थ्य प्रणाली नै कमजोर भएको भनेर टीकाटिप्पणी पनि भइरहेका छन् ।

तर हेल्थ एक्सन एण्ड रिसर्चकी संस्थापक तथा मेडिकल डाक्टर रोलिना धिताल मल्लकालीन समयदेखि नै जनस्वास्थ्यको बोरमा कुराकानी भइरहेकोमा अहिले पनि विकासको अवस्थामा नै रहेको बताइन् । पहिला परिवार नियोजन र खोपका विषयमा केन्द्रित जनस्वास्थ्य सन् २००० पछि केही बेवास्तामा आए पनि अहिले पुनः प्राथमिकतामा रहेको बताइन् । कोरोनासम्बन्धी अनुसन्धानमा सहभागी रहेकी धितालले ‘हामी सिक्ने क्रममा छौँ’ भन्दै बलियो स्वास्थ्य प्रणाली भएको देश भन्ने बेला नभएको बताइन् ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी नेपालमा जनस्वास्थ्य प्रणाली कमजोर हुनुको प्रमुख कारण स्वास्थ्य क्षेत्रमा अनुसन्धान नहुनु देखाउँछन् । ‘नेपालको स्वास्थ्य क्षेत्रको बारेमा अनुसन्धान गर्ने संगठन ‘नेपाल स्वास्थ्य अनुसन्धान परिषद्’ मा संरचनागत समस्या, राजनीतिक हस्तक्षेप अनि भएका तथ्याङकमा पनि तोडमोड भएका हुन्छन् । नराम्रो संस्कार छ मनिटरिङ छैन । काम कस्तो भयो भनेर हेरिँदैन, कारबाही गरिँदैन,’ सुवेदीले भने, ‘यहाँ व्यवस्था राम्रो हुने हो भने र परिषद्ले सहजीकरण गर्ने हो भने सीपयुक्त युवा समुदाय यो क्षेत्रमा आकर्षित छ ।’

छलफलमा चिकित्सक अनुप बास्तोलाले जुन अवस्थामा कोरोना महामारी आउँदा पनि अहिलेको संघीय व्यवस्थाले पनि काम गर्न सहज भएको र सरकार र अस्पतालले धेरै राम्रो काम गरेको बताए । बास्तोलाले स्थानीय तहसँग कोरोना भाइरसको नियन्त्रणमा विशेषगरी ‘कन्ट्याक्ट ट्रेसिङ’ मा योजना भए पनि कार्यान्वयन गर्न नसकेको बताए । कतिपय व्यवहारिक समस्याले पनि स्वास्थ्य सेवा प्रवाहमा समस्या भोगेको अनुभव बताउँदै उनले भने, ‘सरुवा रोग अस्पतालले पुरानै संरचना, कम जनशक्तिको आडमा पनि कोरोनाको बिरामीलाई कहिले पनि फर्काएनौँ, हामी आफैले रिफर गरेको अस्पतालले पनि कोरोनाको लक्षण देखिएका बिरामीलाई भर्ना लिन मानेको थिएन ।’

डा. धितालले उस्तै आर्थिक व्यवस्था भएको भियतनाम कोरोना महामारी नियन्त्रण गर्ने काममा परिपक्क देखिएको बताएकी थिइन् । नेपालले महामारी व्यवस्थापनमा नेपाल हडबडाउनु पहिलो पल्ट महामारी खेप्नु भएको हुन सक्ने उनको भनाइ छ ।

डा. सुवेदीले डा. बास्तोलाको विचारको खण्डन गरे । उनले नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा विज्ञलाई समेट्न नसक्नु यसको प्रमुख कारण भएको बताए । सरकार संघीयतामा गए पनि सरकार, स्वास्थ्य क्षेत्रलगायत नियमन एकाइमा पुरानो प्रवृत्ति बाँकी रहेको बताए । उनले केही नयाँ काम गर्न चाहने व्यक्तिलाई थन्काउने प्रवृत्ति स्वास्थ्य संगठन भित्र बाँकी रहेको उनले बताए । सुवेदीका अनुसार हरेक ठाउँमा राजनीति हाबी हुने गर्छ त्यसले प्रणालीगत समस्या निम्त्याउने, नेतृत्वको जिम्मेवारीपनमा प्रश्न उठाउने बताए ।

डा. धितालले जनस्वास्थ्यको क्षेत्रमा राजनीतिक अस्थिरताले पनि नेपालमा प्रमुख भूमिका खेलेको बताइन् । उनले भनिन्, ‘थाइल्याण्डमा पनि अस्थिर सरकार भएर पनि प्रभावशाली स्वास्थ्य व्यवस्था छ । सरकार र राज्य फरक हुन् । स्वास्थ्यमा राजनीतिकरण हुँनु हुँदैन । स्वास्थ्यसम्बन्धी नीति निर्माणमा प्रतिस्पर्धात्मक रुपमा विज्ञ सहभागी हुनुपर्छ ।’ उनले पछिल्लो समय सबै ध्यान कोरोना महामारीमा मात्र केन्द्रित हुनु भनेको हामीसँग राम्रो व्यवस्था नहुन रहेको बताइन् ।

नेपालमा पहिलो चरणको कोरोना भाइरस संक्रमण दर पछिल्लो समय कम देखिएको छ । पहिलो चरणको कोरोना भाइरस देखिएको मुलुकमा अहिले दोस्रो चरणको भाइरसले संक्रमण फैलाइरहेको छ ।

डा. अनुप सुवेदीले व्यक्ति एक्लैले महामारी नियन्त्रण गर्न नसकिने यसमा व्यक्तिदेखि अस्पताल, सरकारले नै अभियान थाल्नुपर्ने बताए । उनले सरकार केही काममा चुकेको भन्दै आफू नेतृत्व पदमा भएको भए महामारीको आँकडा राख्ने, मकामारी फैलिएको सूचना प्रवाह गर्ने र जनस्वास्थ्यको संयन्त्र प्रभावकारी बनाउने काममा अहिलेको भन्दा फरक काम गर्न सक्ने आत्मविश्वास रहेको पनि बताए । उनले कोभिडको समयमा भष्ट्राचारको कुरा आउनु दुर्भाग्यपूर्ण कुरा भएको भन्दै नेपाल सरकारको कोरोना महामारी नियन्त्रण संरचना ‘फङ्सनल नभएको’ बताए । उनले प्राविधिक, व्यवस्थापकीय र राजनीतिक सबै काममा सरकार चुकेको बताए । उनले व्यक्तिमा निर्भर नहुने भए पनि नागरिकलाई सामान्य सूचना प्रवाह गर्ने काममा पनि असफल भएको बताए ।

पुस १४ गते साँझसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५९ हजार पाँच सय भन्दा धेरै रहेको छ भने भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ सय ४० पुगेको छ ।

कोरोना भाइरस महामारीपछिको जनस्वास्थ्यको विषयमा भएको छलफल कार्यक्रमलाई प्रस्तोता सोबिता गौतमले सहजीकरण गरेकी थिइन् ।


No comments:

Post a Comment

Post Bottom Ad

Pages