कोरोनाले मानसिक समस्यालाई भुसको आगो बनायो - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Sunday, December 27, 2020

कोरोनाले मानसिक समस्यालाई भुसको आगो बनायो

 १३ पुस, काठमाडौं । दुई दशकदेखि खासगरी किशोर–किशोरीको मानसिक स्वास्थ्य उपचारमा सक्रिय डा. गंगा पाठक महामारीकालमा मानसिक रोग भुसको आगो जस्तै भित्रभित्रै सल्किएको बताउँछिन् । महामारी कालमा सल्किएको मानसिक रोगले समाजमा दीर्घकालिन असर पार्ने उनको विश्लेषण छ ।

त्रिभुवन विश्वविद्यालय मनोविज्ञान विभागकी प्राध्यापक पाठकको मनोविज्ञानसम्बन्धी आधा दर्जन पुस्तक प्रकाशित छन् ।



त्रिभुवन विश्विद्यालयबाट ‘क्लिनिकल साइकोलोजी’मा स्नातकोत्तर गरेकी उनले भारतको बनारस हिन्दु विश्वविद्यालयबाट विद्यावारिधी गरेकी छिन् ।

प्राध्यापन, लेखन र मनोपरामर्शमा सक्रिय पाठकसँग नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला किशोर किशोरीमा देखिएको समस्या र त्यसले निम्त्याउने दीर्घकालिन् असरबारे कुराकानी गरेको छौं ।

प्रस्तुत छ, डा. पाठकसँगको कुराकानीको सम्पादित अंश :

महामारीको समयमा पनि काउन्सिलिङबाट फुर्सद मिलेन्, पछिल्लो अनुभवको आधारमा मानसिक स्वास्थ्यको स्थिती कस्तो पाउनु भयो ?

महामारीको सुरुवातका वेला मेडिकल क्षेत्रका मानिसमा बढी तनाव देखिएको थियो । त्यतिबेला नर्स तथा डाक्टरहरुले हामीलाई सम्पर्क गरे । उनीहरूमा डरलाग्दो ‘एञ्जाइटी’ थियो ।

सुरूमा कोरोना भाइरस बारे धेरैलाई यथार्थ ज्ञान थिएन । सञ्चार माध्यममा अरू देशका मृत्युका समाचार देखेर उनीहरू आत्तिएका थिए । अस्पताल जाँदा ज्यानको खतरा हुने महसुस गरेर उनीहरू आतंकित भए । समयसँगै त्यो डर घट्दै गयो मेडिकल क्षेत्रका मानिस काउन्सिलिङमा कम आउन थाले । तर, सुरुवाती चरणमा जागिरबाट राजीनामा दिने मनस्थितिमा पुगेका समेत धेरै थिए ।

पहिलो लकडाउनमा हामी पनि घरमै थियौ । काउन्सिलिङको काम गर्न सम्भव थिएन् । सोधपुछ अत्यधिक बढेपछि काउन्सिलिङ सुचारु गर्यों । त्यसबाट किशोर–किशोरीहरू झन भयानक मानसिक समस्या झेलिरहेका छन् भन्ने थाहा भयो ।

यो पनि पढ्नुहोससकसमा छन् बालबालिका

मेरा लागि यो अप्रत्याशित जस्तै थियो । अधिकांश टिनएजरहरू किन यस्तो ‘डिप्रेस्ड’ भए भनेर खोज्दै जाँदा घरभित्रै बन्दी हुनु प्रमुख कारण रहेछ । स्वतन्त्रतापूर्वक बाँचिरहेका मानिसहरू बन्दी बनेर बस्न नसक्ने रहेछन् । कोरोना भन्दा पहिला यस्तो संकटको सामना गर्नुपरेको थिएन ।

लामो लकडाउनमा सबै किशोर किशोरी २४ घण्टा नै घरभित्र बन्द भए । आफ्नो अभिभावकसँग धेरै भन्दा धेरै सम्पर्कमा रहे । अभिभावकहरू स्वाभावले पनि बच्चाहरुलाई आफ्नो कुरा लाद्ने गर्छन्, त्यसले गर्दा तनाव बढ्दै गयो । ‘यसो नगर, त्यसो नगर, यो गर, त्यो गर, किन त्यस्तो गरिस्’ भनेर सुन्दा सुन्दै उनीहरु वाक्क भए । साधारण समयमा भन्दा यो समयमा बच्चा र अभिभावक फुर्सदमा भएकाले एकले अर्कालाई मूल्यांकन गर्ने अवसर पाए, जुन सकरात्मक पाटोमा गएन् ।

घरभित्र थुनिएका कारण उसैपनि उनीहरू मनोवैज्ञानिक चिन्तामा छन् । त्यसमाथि अभिभावकसँगको तनावको कारणले गर्दा त्यो समूह एकदम डिप्रेसनमा गयो । अत्यन्तै आक्रमक व्यवहार गर्ने, तनावमै बसिरहेने भयो । आफ्नो बच्चाहरूको स्वाभाव र व्यवहार बदलिएपछि अभिभावकहरूलाई चिन्ता लाग्नु स्वाभाविक पनि हो । सोही कारण ‘मेरो छोरा–छोरी त यस्तो थिएन’ भन्दै अभिभावकहरू हामीकहाँ परामर्शका लागि आए ।

प्रायः अभिभावकहरूमा एउटै चिन्ता देखिन्छ–हाम्रो बच्चा एकाएक कसरी आक्रमक बने ? के समस्या आइलाग्यो ?

बच्चाहरू कुनै दुर्व्यसनमा परेको भए पनि यस्तै समस्या आइलाग्न सक्थ्यो । लगातार गाँजा वा अन्य लागूऔषध खाने धेरै किशोर किशोरीहरूलाई परामशर्म गरिरहेकाले पनि म यो निष्कर्षमा पुगेकी थिएँ । अझ भनौ निरन्तर सम्पर्कमा रहिरहेका प्रेमी–प्रेमिका लामो समयसम्म भेट्न नपाउँदा पनि यस्तो हुन सक्थ्यो । भर्चुअल संवादले ‘इरिटेसन’ पैदा गर्ने कारण बनिरहेको थियो । मैले ति अभिभावकहरूलाई यस्तै यस्तै सम्भावना हुन सक्ने भन्दै अलिक ख्याल गर्न सुझाव दिएँ ।

एक दुई दिन मात्र थुनिएको भए त केही हुदैनथ्यो तर महिनौ थुनिदा तनाव त हुने नै भयो । रातभर निद्रा नलाग्ने र छटपटी हुने समस्या धेरैमा भयो । ओडिसी हुने टिनयजरहरू धेरै आए । छोराछोरीकै कारणले आमा बुबा फेरि डिप्रेसनमा जान थाले । एकदम भयानक अवस्था थियो । मानिसहरू आफ्नो समस्या भन्न गर्न डराए । भाइरस जसरी नै मानसिक समस्या भुसको आगोझैं फैलियो, फैलिइरहेको छ ।

मलाई मानसिक रोग लाग्यो भनेर कस्ले भन्छ ? उसै त समाजको डर छ, मान्छेले उसै त पागल भन्छ । साइकोलोजी काउन्सिलिङको बोर्ड देख्दा मान्छे झस्किएर तर्सिन्छ भने यस्तो पृष्ठभूमि भएको समाजमा मानसिक स्वास्थ्यको हालत के होला ? मानसिक रोग न भित्रभित्रै दबाउन सकिन्छ, न त समाजमा कसैलाई भन्न सकिन्छ । यस्तो बेलामा साथी भएको भए, कलेज भएको भए केही न केही नियन्त्रण हुन्थ्यो । तर महामारीले त झनै समस्या गुम्साइदियो। मानिसहरू उपायरहित भए । आत्महत्या पनि बढ्यो । भित्रभित्रै भयानक रुपमा मानसिक रोग बढिरहदाँ राज्यलाई थाहै भएन् ।

महामारीको बेला मलाई यति धेरै फोन आयो की म घर बस्नै सकिन् । आत्महत्या प्रयासका घट्ना बढी नै भएकाले मैले बाध्य भएर कार्यालय खोल्नुपर्यो । त्यो बेला बढी भन्दा बढी टिनएजरहरुलाई काउन्सिलिङ गरे ।

महामारीमकालमा बिहान बेलुका हातमुख जोर्न धौ धौ हुने धेरै भए, राहत लिन लाइनमा लाग्नुपर्ने पारिवारिक पृष्ठभूमि भएकाहरु पनि काउन्सिलिङ गर्न आए त ?

समाजमा मानप्रतिष्ठा भएका, ठूला सरकारी कर्मचारी र कर्पोरेट क्षेत्रका मानिसका छोराछोरीहरू पनि पीडित छन् । र, अधिकांश यस्तै पृष्ठभूमिका मानिसहरू हामीकहाँ आए ।

यो पृष्ठभूमिका मानिसहरु हामीकहाँ आउनुको पनि कारण तनाव ‘रिलिज’ गर्ने ठाउँ नभएर हो । पहिला त बललाई नै बाउन्स गरेर भएपनि तनाव व्यावस्थापन गर्थे । तर अहिले भावना व्यक्त गर्ने ठाउँ छैन् । घरमा पाइलापिच्छे खबरदारी छ । अरुका छोराछोरीसँग तुलना र प्रतिस्पर्धा छ । ‘तँ मात्र किन यस्तो ? संसारले भोगिरहेको छ कोराना समस्या तँलाई मात्रै यस्तो हो र ? भनेको सुन्दा–सुन्दा उनीहरू वाक्क भएका छन् । बाबुआमाको अनुहार र स्वरसँग नै इरिटेसन हुन थालिसकेको छ । त्यसैले उनीहरुले आफैलाई हानी गरे । आवश्यकता भन्दा बढी औषधि खाए । अस्पताल जाँदा भाइरस लागेर मरिएला भन्ने डरले झन घरमै गुम्सिए ।

आत्महत्या पनि अनौठा–अनौठा प्रकृतिका भए । भिडियो खिचिखिचिकन आत्महत्या गर्ने ट्रेण्ड समेत चल्यो । म सिद्धिए पनि संसारलाई देखाउँछु भन्ने सोच अत्यन्तै डरलाग्दो किसिमले विकास भयो । औषधि ओभरडोज खाएर बेहोस हुने घट्ना धेरै आए । मेरो काउन्सिलिङ करियरमै यो तहको फ्रस्टेशन भएका टिनयजरहरू पहिलो पटक भेटे । बुझ्दै जाँदा सानै उमेरमा जीवनदेखि दिक्क हुने धेरै रहेछन्, महामारीअघि यस्तो केस धेरै थिएन् । आत्महत्या दर पनि अहिले ह्वात्तै बढेको छ ।

मध्यम वर्गीय परिवारका सदस्यहरू तपाईहरूसँग आइपुग्न पहुँच नपुगेको हो या मध्यम वर्गीयलाई मानसिक समस्या नै हुन्न ?

तनाव सबैलाई हुन्छ । मध्यम वर्गीय परिवारका छोराछोरी पनि यसबाट पीडित छन् । तर काउन्सिलिङको पहुँचसम्म उनीहरू छैनन् ।

फोनमा सोधपुछ गर्छन्, काउन्सिलिङ शूल्क सुनेपछि हरेस खान्छन् । सक्नेजति सहुलियत दिएपनि उनीहरूको क्षमता नै पुग्दैन् । गरिबी, अभाव र चेतना नभएको कारणले गम्भीर प्रकृतिको मानसिक रोग समाजमा भएपनि हामीले थाहा पाएका छैनौ ।

धेरै जसो परिवारलाई मानसिक समस्या भएको भन्ने चेतना नै हुन्न । मानसिक रोगको बारेमा संवेदनशीलता नभएको कारणले मानिसहरू पीडित भएरै बसिरहेका छन् ।

धनी र गरिबमा मानसिक रोगको प्रभाव फरक फरक हुन्छ?

अवश्य हुन्छ । कुनै एउटा वर्गले लगातार एउटै कुरा भोगिरहेको हुन्छ उस्लाई स साना कुराले छुँदैन । अनि एउटा अर्को वर्ग हुन्छ जसलाई सबै कुराले पुगिसरी आएको हुन्छ, तिनीहरूलाई छिसिक्क केही भएपनि समस्या हुन्छ । हाइप्रोफाइलको मानिसमा बढी मानसिक समस्या देखिनुको कारण धेरै छन् । जस्तो की उनीहरू यो रोगको बारेमा संवेदनशील छन् । त्यसैगरी उनीहरूसँग नियम धेरै छ । जहाँ धेरै बन्धन हुन्छ त्यहाँ मानसिक तनाव त हुन्छ नै ।

अहिलेका बालबालिकाहरू पिँजडामा थुनिन चाहन्न । यस्ता परिवारमा आफ्नो उकुसमुकुस भन्ने मौका नै पाउदैन् । तर, उनीहरूको प्राथमिकता भावना भएकाले चिन्तित रहन्छन् । र, हामीकहाँ आइपुग्छन् । तर मध्यम वर्गीय परिवारको मुख्य प्राथमिकता भावना नभएर खाने, लाउने नै हुन्छ ।

मानसिक समस्यालाई हेर्ने दृष्टिकोण फरक भएकाले नै यी दुई वर्गमा मानसिक समस्याको सङ्ख्या घटबढ हुन्छ । तर, अघि मैले माथि नै भनिसके मध्यम वर्गमा पनि मानसिक समस्या छ तर बाहिर नआउनुका कारण धेरै छन् । त्यसले निम्त्याउने परिणाम झन भयंकर छ ।

महामारीको अवधिमा तपाईंले धेरै टिनयजर र उनीहरुको अभिभावकलाई भेट्नु भो, काउन्सिलिङ गर्ने क्रममा उहाँहरूमा सामूहिक मनोविज्ञान कस्तो पाउनुभयो ?

अधिकांश अभिभावकहरूले परिस्थिती सिर्जना गरेको समस्या भन्दापनि छोराछोरीमै समस्या देखे । बच्चाहरूलाई नै दोष लगाए । अधिकांश बच्चाहरू फेरी अभिभावलाई नै दोषी देख्ने गर्दारहेछन् । ‘बा आमाहरूले कुरा नै बुझ्दैनन्, हाम्रो भावना नै महसुस गर्दैनन्, सबै परिवार छ तर म एक्लो छु’ भन्ने सोच्दा रहेछन् ।

छोराछोरी र अभिभावकले एकले अर्कालाई हेर्ने मनोविज्ञान नै फरक छ । एकले अर्कालाई आरोप लगाउने धेरै छन् । यसो बुझ्दाखेरि धेरै जसो अभिभावकहरुले बच्चाको ठाउँमा बसेर हेर्दैनन् । हामीले गरिहेका छौ, तैंले पनि गर्नुपर्छ, यत्रो संसारले गरिराछ तैले किन सक्दैनस् ? गुनासो नै यही छ । त्यो गुनासो सुनेपछि बच्चाहरू संसारले सक्दा मैले सकिन, नसक्ने र’छु भनेर कमजोर हुन्छ । नबुझ्ने, दबाव दिने, र, तैलेपनि सक्नुपर्छ भन्ने अभिभावकको मनोविज्ञानले धेरै समस्या बढाएको छ।

महामारीअघि पनि मानसिक समस्या नभएको होइन । महामारीले नै मानसिक समस्या बढायो भन्ने आधार के के छन्?

हो, महामारी नभएको भए यो अवस्था आउने थिएन् । सङ्यात्मक रुपमा मानसिक समस्या दोब्बर बढ्नु सामान्य कुरा होइन् । धेरै जनालाई आफू मानसिक रोग भएको जानकारी छैन । यो दुःखद् कुरा हो ।

एक्लै हुनु भन्दा भयानक समस्या केही होइन् । मान्छे व्यस्त हुँदा मष्तिष्क पनि व्यस्त हुन्छ । महिनौसम्म फुर्सद भएपछि गुम्सिने त भयो नै । मानसिक समस्या बढ्नुको कारण पनि एक्लोपन हो।

जैविक रुपमै टिनएजर्स आक्रमक हुन्छ । त्यो उमेरमा प्रेसर बढी भयो भने मानिस कि त आक्रमक हुन्छ की त उदास हुन्छ नै । महामारीले आइसोलेट गराएर यो उमेर समुहलाई आक्रमक र उदास दुवै बनायो । त्यसैले मानसिक समस्या धेरै बढ्यो ।

नेपालमा त यो विषयमा कुनै अनुसन्धान भएको छैन र तथ्यांक पनि पाइन्न, मानसिक समस्या धेरै बढ्यो भनेर कसरी मान्ने ?

हो, राज्यको तर्फबाट अनुसन्धान मात्र होइन हुनुपर्ने अन्य धेरै काम भएका छैनन् । केही संस्थाले गरेको अनुसन्धानले मानसिक रोगको मुद्दा ५० प्रतिशत बढेको देखाएको छ । आत्महत्या बढेको तथ्यांक नेपाल प्रहरीले दिइराखेको छ नै । हामीजस्ता काउन्सिलिङ गर्ने अधिकांशले अहिले समस्या बढेको महसुस गरेका छौ । हाम्रोमा सेवाग्राही बढ्नुको अर्थ पनि त्यही हो । बिना विज्ञापन मानिसहरू ओइरिएर आउनु भनेको सामान्य समस्या भएर होइन् । फेरि यो महामारीकालमा म कहाँ सेवा लिन आउनेहरु अधिकाशं टिनएजरहरु नै छन् ।

महामारीका बेला घरेलु हिंसा बढेका समाचार आए । यसमा पनि मनोवैज्ञानिक प्रभाव देख्नुहुन्छ ?

महामारीकालमा टिनएजरपछि सबैभन्दा बढी मानसिक समस्या भोग्ने महिलाहरू भए । घरेलु हिंसाका कारण मानसिक तनाव भोग्नेहरूका व्यथा छुट्टै छ । हाम्रो सामाजिक सांस्कृतिक संरचनाले महिलाहरूलाई बढी जिम्मेवार दिइएको छ । घर हेर्ने, बच्चा हेर्ने, भान्साको काम गर्ने जिम्मा महिलाको काँधमा छ । अझ घरका जेष्ठ नागरिक हेर्ने जिम्मा पनि उनीहरूमाथि नै छ ।

पुरुषहरू भने महिलालाई मूल्यांकन गर्ने र घरको काममा नसघाउने हुन्छन् । अझ यो अवधिमा त धेरै भौतिक हिंसापछि मानसिक तनाव भोग्नेहरू आए । उहाँहरूको पीडा सुन्न नसकिने किसिमको थियो । पुरुषले महिलालाई भौतिक रुपमा आक्रमण गर्दा त्यहाँ आमालाई मात्र होइन बच्चालाई पनि मानसिक असर परिरहेको हुन्छ । महिलालाई फिजिकल टर्चर दिने मान्छे आफैंमा मानसिक रुपमा स्वस्थ त हुँदै हुन्न । एकजनालाई मानसिक समस्या भयो भने पुरै परिवार तहस नहस हुन्छ । यस्ता उदाहरण धेरै छन् ।

एक पटक एकजना महिलाले मलाई रुँदै फोन गरेकी थिइन। त्यहाँ बच्चा रोइरहेको थियो । उनी पुलिस बोलाइदिनु भन्दै चिच्चाइरहेकी थिइन्, यस्ता किसिमका घट्ना मैले धेरै हेरेकी छु ।

कोरोनापछिको मानसिक समस्या फरक र जटिल छ भन्न खोज्नु भएको हो ?

महामारी भन्दा पहिला ‘सिस्टमेटिकल्ली डेभलप’ भएका मानसिक समस्या लिएर आउँथे तर अहिले अकस्मात परिस्थितीले सिर्जना भएको समस्या लिएर आउँछन् । सङख्या पनि डरलाग्दो छ ।

पहिला मानसिक समस्या विस्तारै विकास भएकाले मानिसहरूसँग धेरै विकल्प थिए । कोही औषधि खान डाक्टरकहाँ जान्थे भने कोही सुरूमै परामर्श गर्न जान्थे । तर, अहिले त एकदम अकस्मात उपचार गर्नु परेको छ । अस्पताल जान डरमर्दो छ, क्लिनिक बन्द छन् । त्यसकारण काउन्सिलिङमा आउने धेरै भए । सोचेर बुझेर आउने भन्दा पनि विकल्प नपाएर आउने भए । फेरि उनीहरु ठिक अवस्थामा भन्दा पनि पुरै उपाय रहित भएपछि आए । एकदम समस्या जटिल भएपछि आउने भएकाले उनीहरूको उपचार प्रकिया पनि लम्बियो । सँधै उपचारमा धाउन नसक्ने भएकाले उनीहरूले काउन्सिलिङ नै छाडे । कोही उपचारको पहुँचसम्म पुग्न सकेका छैनन् भने कसैले उपचारलाई निरन्तरता दिन सकेका छैनन् । यति धेरै समस्या हुँदा राज्यले केही पहल नगर्नु एकदम दुःखद् हो ।

मनोविश्लेषक वा मनोचिकित्सकसँग के त्यस्तो कला हुन्छ, जसले गर्दा बिरामीहरू सजिलै प्रभावमा पर्छन् ?

अहिले हाम्रो सामाजिक मनोविज्ञान नै पीडित छ । आफ्नो मनस्थिती नियन्त्रण गर्न सक्नेले गरेका छन्, नसक्नेहरु समस्या भोगेरै बाँचिरहेका छन् । समाज नै पीडित भएपछि कसले कसलाई काउन्सिलिङ गर्ने ? अक्सर मानिसहरुमा के भ्रम छ भने साइकोलोजिस्टले पनि त सम्झाउने, बुझाउने त हो नी, किन जानु र ? तर त्यस्तो होइन् यहाँ त धेरै थेरापीहरू हुन्छन् ।

सम्झाउने बुझाउनु भनेको मेरो सोच, मेरो कुरा, मेरो अनुभव लाद्नु हो । मैले तुलना गर्न थाले भने मानिसले झन नकारात्मक रुपमा लिन सक्छन् । दाज्नु भनेको कमजोर बनाउनु हो भन्ने बुझ्छ । उस्ले झन कमजोर महसुस गरेर कुरा मान्दैन् । मनोपरामर्शमा कहिले पनि अरुसँग दाजिन्न । परामर्श लिन आएका मान्छेको कमजोरी भन्दै भन्दैन । उस्को राम्रो कुरा पत्ता लगाएर उसलाई काउन्सिलिङ गर्न सुरु गरिन्छ । तिमी कमजोर र तिमिले सकेनौ भनेर त भनिदै भनिन्न ।

यो पनि पढ्नुहोस‘महाभूकम्पको जस्तै मानसिक स्वास्थ्य समस्याको चपेटामा छन् बालबालिका’

हामी काउन्सिलिङ गर्दा उसको व्यवहार र सोचमा के कुराले असर गर्यो भन्ने कुरा खोज्दै जान्छौ । त्यसो गर्दै जाँदा उ आफैं मैले यो गर्नुपर्ने यो गरेछु, भनेर सोच्न थाल्छ । यस्तो सोच्नुपर्ने यस्तो सोचेछु भनेर महसुस गर्न थाल्छ । उ आफैं महसुस गरेर आफ्नो गल्ती पत्ता लगाउँछ । आफ्नो सोच र व्यवहारको समिक्षा गर्छ । आफैंले महसुस गरेपछि उस्लाई सुधार्न हामी मदत मात्र गर्छौं । उस्को स्वभाव र क्षमता अनुसार हामी सहयोग गर्छौ । मानसिक समस्या भएका मानिसलाई सुझाव दियो भने झन नराम्रो हुन सक्छ । त्यसैले सकारात्मक कुराबाट उत्प्रेरित गर्दै लैजानु पर्छ । तर, अधिकांश अभिभावक आफ्नो सन्तानलाई ‘होच्याउने, गिज्याउने सकिनस्’ भन्ने गर्दा गर्दै उसलाई झन समस्यामा पारिदिन्छन् । जो मानिस उभिनरहिड्न नै सक्दैन भने उ दौडिएन भनेर कराएर हुन्छ र ? पैला त उभ्याउन सघाउनुपर्यो । हिड्न सिकाउनु पर्यो नि ।

महामारीले बिगारेको मानसिक स्वास्थ्यको दीर्घकालीन असर के हुनसक्ला ?

धेरै नै पार्छ । अहिले मानसिक रोगको जरा गाडिएको छ त्यो पछि झांगिएर रुख बन्छ । अनि सरकारको नजरअन्दाजले गर्दा पनि मानिसहरू पीडित भएका हुन् । मानिस त्यसै मानसिक रुपमा पीडित हुन्न, मानसिक समस्या सानो कुराले नै झ्यागिन्छ । एउटै सानो कुराले सताउन थालेपछि मानिस कमजोर बन्छ । महामारीकालमा क्वारेन्टिनको अवस्थित व्यावस्थापन र अनेक भ्रामक समचारले मानिसलाई पीडित बनाउँदा त्यहाँ काउन्सिलिङ गर्नु पर्छ कि पर्दैन् ? राज्यले सानो कुरा नसोच्दा मानिसहरू धेरै पीडित भएका छन् ।

यो बीचमा एक जना मानिसले मलाई एक दिन फोन गरेर भन्नुभयो–पत्रिकामा त आफैंलाई श्रद्धाञ्जली दिएको फोटो देखेँ ।’

त्यो डरको कारणले सिर्जना भएको मानसिक समस्या हो । उमेर, अनेक दीर्घरोग र भाइरसको त्रासले मानिस अत्तालिने भयो नै । दिर्घरोगी र वृद्धवृद्धालाई जोखिम हुन्छ भनेर भनेकाले पनि डर भयो । उहाँ जस्ता डराउने कति थिए होलान् ? कस्ले काउन्सिलिङ गर्ने ? महामारीकामा मानसिक समस्या भुसको आगोझैं सल्किएको छ । महिला, वृद्धवृद्धा र टिनएजर लगायत सबै उमेर र वर्गका मानिस पीडा सहेर बसिरहेका छन् । यसको दीर्घकालीन असर भयानक देखिनेवाला छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages