घरघरमै पितृपूजा गरेर उधौली मनाइने - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Tuesday, December 29, 2020

घरघरमै पितृपूजा गरेर उधौली मनाइने

 काठमाडौँ — किरात समुदायले उधौली चाड मंसिर पूर्णिमा घरघरमै पितृपूजा गर्ने र सार्वजनिक रूपमा सांस्कृतिक नाच प्रदर्शन नगर्ने भएका छन् । कोभिड–१९ ले गर्दा उधौलीसमेत सामूहिक पूजाआजा तथा सांस्कृतिक नाच प्रदर्शन नगर्ने निर्णय गरेका हुन् । यो पटक उधौली तिथि पुस १५ गते बुधबार परेको छ । महामारीले गर्दा गत वैशाखमा समेत सार्वजनिक नाच प्रदर्शन गरेका थिएनन् ।

फाइल तस्बिर

यो चाडलाई लिम्बूले चासोक तङनाम, राईले साकेला/साकेन्वा/तोसी, याक्खाले चासुवा र सुनुवारले फोलस्यादर भन्दछन् । सरकारले २०५८ सालदेखि ‘किरात चाड’को मान्यता दिएको छ ।

किरातीले मंसिर पूर्णिमा तिथि चाडलाई अन्नोत्सवका रूपमा लिने गर्दछन् । नयाँ अन्नबाली, अदुवा पाकेपछि पितृपुर्खाहरूलाई चढाउने र पारुहाङ–सुम्निमालगायत प्रकृतिप्रति आभार प्रकट गर्दै सामूहिक नाच प्रदर्शन गर्ने गर्दछन् । यस चाडमा छोरीचेलीलाई निम्तो गरी सेतो टीका लगाइदिने तथा परिकार खानपिन गर्ने चलन छ । अन्नबाली छरिसकेपछि वैशाख पूर्णिमामा प्रकृतिको पूजा गर्दै उभौली चाड मनाउने गर्दछन् । सामूहिक स्थलमा भेला भई ढोल, झ्याम्टा, च्याब्रुङजस्ता बाजा बजाएर परम्परागत नाच प्रदर्शन गर्ने चलन छ ।

लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ उधौली चासोक तङ्नाम सामूहिक रूपमा नमनाउने निर्णय गरेको अध्यक्ष योगराज वनेम लिम्बूले बताए । ‘कोरोना भाइरस फैलिन सक्ने भएकाले सामूहिक भेला नगर्ने, मेलापात नलगाउन भन्ने निर्णय भएको छ,’ बृहत् भेला नहुने उल्लेख गर्दै अध्यक्ष लिम्बूले भने, ‘ललितपुरको सानो हात्तीवनस्थित माङहिम (देवघर) लगायत अन्यत्रको माङहिममा समेत सीमित व्यक्ति भौतिक दूरी कायम गरेर पूजा गर्नेछौं । सामाजिक सञ्जाल, आमसञ्चारका माध्यमबाट शुभकामना आदानप्रदानमात्र गरिनेछ ।’

किरात राई यायोक्खाका महासचिव जनक राईले उधौली साकेलामा सामूहिक पूजाआजा र सिली (नाच) प्रदर्शन नहुने बताए । ‘हामीले कोरोना भाइरसबाट जोगिन वैशाखे पूर्णिमा उभौली पनि सामूहिक रूपमा मनाएनौं,’ उनले भने, ‘अहिले उधौली पनि त्यसरी नै सामूहिक भेटघाट, पूजाआजा र सिली प्रदर्शन नगर्ने, आ–आफ्नो घरमा पितृपूजामात्र गर्ने निर्णयसहित हाम्रा जिल्ला कार्यसमितिहरूलाई परिपत्र गरेका छौं ।’

सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार र किरात याक्खा छुम्माका अध्यक्ष एलबी रोगुले यो पटक उधौली पनि घरभित्रै सीमित रहेर मनाउने बताए । ‘कोरोना महामारी हटेको छैन, त्यसैले माङ (देवता र पितृ) पूजा घरघरमै गर्नेछौं,’ उनले भने । काठमाडौं उपत्यकामा रहेका किरातीले सानोहात्तीवनस्थित माङहिक (देवघर)मा भेला भएर पूजाआजा गर्ने गर्दछन् । यो पटक पूजारी र सीमित व्यक्तिले पूजा गर्नेछन् ।


No comments:

Post a Comment

Post Bottom Ad

Pages