तिलोत्तमा — नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले प्रतिनिधिसभा विघटनको विषय अदालतमा गइसकेकाले कांग्रेस फैसलाको पर्खाइमा रहेको बताएका छन् । मंगलबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले सरकार असंवैधानिक, अधिनायकवादी र अलोकतान्त्रिक भएको बताए ।
‘प्रधानमन्त्रीले सुरुदेखि नै संविधानको बर्खिलाप काम गर्दै आउनुभएको छ,’ उनले भने, ‘प्रेस, मानवअधिकार र राष्ट्रिय सुरक्षा परिषद्मा हस्तक्षेप प्रधानमन्त्रीबाटै भएको हो ।’ प्रधानमन्त्री आफैं संविधान तोडमोडमा लाग्नु दुर्भाग्यपूर्ण रहेको भन्दै खाणले कांग्रेसले संविधानको पक्षमा कदम चाल्ने जनाए ।
नेता खाणले एकदलीय सर्वसत्तावाद ल्याउने र सरकारले गरेका ठूला भ्रष्टाचार लुकाउन संसद् विघटन गरिएको आरोप लगाए । संसद्मा उठ्ने भ्रष्टाचारका मुद्दामा प्रश्न उठ्ने र जवाफ दिन सक्ने अवस्था नभएपछि संसद् विघटन गरिएको उनको भनाइ छ । आगामी वैशाखमा गर्ने भनिएको मध्यावधि निर्वाचन असम्भव भएको भन्दै उनले सरकार आफैं निर्वाचन गराउने पक्षमा नरहेको बताए ।
No comments:
Post a Comment