‘माओवादी पनि बिग्रिए, ओलीचाहिँ प्रतिगामी ठहरिए’ - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Tuesday, December 29, 2020

‘माओवादी पनि बिग्रिए, ओलीचाहिँ प्रतिगामी ठहरिए’

 १५ पुस, काठमाडौं । कवि एवं गीतकार भूपाल राई मूलतः संस्कृतिकर्मी हुन् । लोकप्रिय गीतकारको परिचय बनाएका उनी समावेशिता, धर्मनिरपेक्षता र पहिचानको आन्दोलनमा चार दशकदेखि सक्रिय छन् ।

‘सुम्निमाको तस्वीर’, ‘दाजै ! कविता गाउँमै छ’ लगायत चारवटा कवितासंग्रह तथा ‘पूर्वै जाने रेल’, ‘खोइ त बुटजुत्ता’ जस्ता दर्जनौं लोकपि्रय गीतका स्रष्टा राई साहित्यलाई प्रतिरोधको अस्त्र मान्छन् । कविता र गीतमा समाजको सबै रंग झल्कनुपर्ने धारणा राख्छन् ।


अहिले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको कदमविरुद्ध आन्दोलनमा उत्रिएको नागरिक समाजसँगै भूपाल राई पनि सडकमा आएका छन् । उनी दुई दशकयता माओवादी नेताहरु पनि बिगि्रएको तर, केपी ओलीचाहिँ पहिचानका मुख्य दुश्मन एवं प्रतिगामी साबित भएको तर्क गर्छन् ।

प्रस्तुत छ, किरातीहरूको मूख्य पर्व उधौलीको अवसर पारेर संस्कृतिकर्मी राईसँग नेपाली राजनीति, साहित्य र आदिवासी संस्कृतिका विषयमा गरिएको छोटो कुराकानी-

आज किराती समुदायले उधौली पर्व मनाउँदैछन्, यो पर्वको विशेषता के हो ?

विशेषगरी सुनुवार, राई, लिम्बु, याख्खा जातिले यो उत्सव मनाउने गर्छन् । किरातीहरूले वर्षमा दुईचोटि साकेलासहितको सांस्कृतिक पर्व मनाउँछन् । एउटा उधौली अर्को उभौली । यी दुवै पर्व ऋतु (याम) को परिवर्तनका संकेत हुन् । उधौली भन्नाले सारा चराचुरुङ्गी, माछाहरू जाडोले गर्दा उँधो लाग्ने अनि उभौली भनेको चराहरू, माछाहरू माथि लाग्ने समय भन्ने पनि बुझिन्छ ।

यो हाम्रा पूर्खाले ऋतु परिवर्तनका लागि सिकाएको रेखाचित्र हो । यसैले अरु पर्वभन्दा यसमा के पृथक छ भने, यो विशुद्ध ‘भूमिपूजा’ हो । उभौलीमा बैशाखको समय पारेर भूमिको पूजा गरिन्छ । त्यतिबेला प्रकृतिलाई फेरि खनजोत गर्छौं, तिमीले हामीलाई बाँचने आधार देऊ है भन्ने आशय हुन्छ । उधौलीमा चाहिँ ‘हे Û प्रकृति तिमीले राम्रो अन्न दियौ र हामी बाँच्ने भयौं’ भनेर भूमिलाई, माटोलाई, प्रकृतिलाई पूजा गर्छौं ।

उधौली मनाउने विधि-विधान के-कस्तो छ ?

उधौलीमा गीत गाएर साकेला नाच नाचिन्छ । केटाकेटी, तरूणातन्नेरी, बुढाबुढी सबै लहरै गोलबन्द भएर नाच्छन् । उहिले-उहिलेको आदिम साम्यवादको प्रतिछायाँ साकेला नाचमा पाउन सकिन्छ ।

साकेला नृत्य परम्परागत ढंगले मान्दै आइएको आस्थाको केन्द्र हो । दोस्रोचाहिँ पहिचानको आयाम विस्तार गर्ने क्रममा अब पहिचान जोगाउनुपर्छ र भेला हुनुपर्छ भनेर काठमाडौंमा समेत बृहतरुपमा उधौली मनाउने क्रम बढेको छ । उधौली र उभौली किराती दर्शन मुन्धुमअनुसार मनाइने भएता पनि पूर्वी नेपालको स्थानविशेष अनुसार विधि-विधानमा केही भिन्नता छ ।

उधौलीको कुनै विशेष गीत, उखान वा मिथ छ ?

साकेलाको गीत, उखान पहिला पूर्खाले वान्तवा, चाम्लिङ, सोताङ, कुलुङजस्ता आ-आफ्नै भाषामा गाउँथे । तर, अहिले खस नेपाली भाषामै हाम्रो गीत ‘सोइ ढोले सोइ…अर्को ढोले खोइ’, अनि ‘सिन्कौली सिन्ले सेलेले….नाचिमा जाऊँ है पेलेले’ भन्दै गीत गाइन्छ । जसले सामूहीकरणको सन्देश दिन्छ ।

सँगैसँगै उभिएर, मिलेर, हात समाएर नाचौं है भन्ने अर्थ दिन्छ । सबै मिलेर प्रकृतिको गान गाऊँ, नाचौं, उत्सव मनाऔं भन्ने भाव साकेलाको गीतमा पाइन्छ ।

किराती सभ्यता र पहिचानलाई अहिलेको मूलधारमा ल्याउन कत्तिको संघर्ष गर्नुपर्यो ?

कति संघर्ष गरियो, भनिसाध्य छैन । २००७ सालको क्रान्तिमा रामप्रसाद राई, नारदमणि थुलुङहरूले निकै संघर्ष गरे । त्यो नेपालको पहिलो सशस्त्र क्रान्ति पनि हो । किरातीहरू पहिचानका लागि मात्र होइन, प्रजातन्त्रका लागि पनि लडेका छन् । देशका अन्य भागमा २०७७ सालको क्रान्ति हुने तयारी भइरँहदा सशस्त्र विद्रोह गरेर भोजपुरको माल अड्ठा नै कब्जा गर्ने काम किरातीबाट नै भएको थियो ।

गणतन्त्रसम्म आइपुग्न यो जाति र सभ्यताको योगदान छ । २०४६ सालपछि हामीले लेख्ने, बोल्ने, संगठित हुने काम तीव्र पारेर आजको स्थानसम्म आइपुगेका हौं । यद्यपि, सबैभन्दा प्राचीन जातिको हैसियतले हामी मूलधारमा हुनुपर्ने, तर हामी नै संघर्षरत छौं ।

किराती पहिचानको कुरा गर्दा अन्य जनजातिको संस्कृतिलाई चाहिँ मूलधारमा ल्याउनुपर्दैन ?

सबैको आउनुपर्छ । तर, किरातीहरूको विशेष आउनुपर्छ भनेर मैले नै भन्दै आएको छु । किनभने, किरातीहरू यो देशका सबैभन्दा पुराना आदिवासी हुन् । यदि पुरानो हो भने -मौखिक इतिहासमा ५ हजार वर्षको किराती इतिहास छ) यो देशको आम राजनीतिमा, समाजमा, अर्थतन्त्रमा किराती जोडिएका छन् । यो कुरा उठाउँदा कसैलाई पर राख्नुपर्छ भनेको होइन ।

हिजो काठमाडौं सभ्यता अर्थात् बागमती सभ्यतामा किरातको राज्य थियो । पृथ्वीनारायण शाहको हमलाका कारणले पूर्वमा मात्र खुम्चनुपरेको हो । नत्र पूर्वमा पनि एकछत्र किराती राज्य थियो । यसैले यो देशको सभ्यताको कणकणमा किराती प्रतिछाया छ भने सम्पूर्ण किराती सभ्यता, मिथ, सांस्कृतिक अनुष्ठानहरू सबैभन्दा अगाडि आउनुपर्छ ।

अब अलिकति राजनीतिको कुरो गरौं । पछिल्लो समय तपाई केपी ओलीको खुबै कट्टर आलोचक देखिनुभएको छ, किन ?

प्रथम कुरा त जो सत्तामा छ, उसको विरोध हुन्छ नै । दोस्रो- हजारौं नेपालीले सहादत प्राप्त गरेर ल्याएको गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षताको सबैभन्दा डरलाग्दो दुश्मन केपी ओली नै हुन् । ०६२ को जनआन्दोलनमा ‘गणतन्त्रमा जानु भनेको बयलगाढामा चढेर अमेरिका पुग्नु हो’ भन्ने प्रतिगामी मान्छे केपी ओली नै हो । आज त्यो भाष्य पुष्टि भएको छ ।

ओलीले त संसद विघटनमात्र होइन, यो सिस्टम, यो न्यायपूर्ण राज्य नै विघटन गर्न खोजेका छन् । यसको विरुद्ध सबै प्रतिपक्षीय चेतना भएका मानिस जाग्नुपर्छ ।

एकै व्यक्तिमाथि यति धेरै खेदो किन ?

संघीयता, धर्मनिरपेक्षता, बहुलता र पहिचानको यतिको ठूलो दुश्मन नेता अर्को नभएर नै हो । गल्ती अन्य नेताबाट पनि भएका छन् । तर, ओलीको तहमा हेर्दा उनले गर्नु-नगर्नु गरेका छन् । ओली महेन्द्र र ज्ञानेन्द्रका मानसपुत्र हुन् । यसैले मेरो एकसुत्रीय अभिष्ट नै ओलीको विरूद्धमा जानु हो । तर, ममात्र होइन रहेंछु नि । भर्खरै माइतीघरमा हजारौं नागरिकहरू आए । कवि-लेखक कलाकारहरु ओलीको कदम ठीक भएन भनेर उठे । समकालीन लेखक, साहित्यकारसँग संवाद गर्दा पनि ओलीको कदम अत्यन्त निन्दनीय छ भन्ने मत पाएको छु । म आफैं पनि ओलीको राज्यसत्ताबाट भएका गलत कामको सिर्जनात्मक विरोध गरिहेको छु ।

ओली भनेको अहिलेको समाजको दुर्भाग्य हो । फेरि, पहिचानविरोधीको राज्य भएको अवस्थामा हाँसीखुसी हाम्रा चाडपर्व मनाउन सकिन्न । हाम्रा कुरा अगाडि ल्याउन सकिन्न ।

यसो भनिरहँदा तपाईं प्रचण्डसँग नजिक भएको देखिँदैन र ?

म माओवादी भएरै होमिएकै मानिस हो । राज्यसत्ता प्राप्तिकै लागि लडेको हुँ । सबै जाति-जनजाति, सीमान्त मानिसको पहिचानका लागि लडेको हुँ । संकटकालमा ज्यानकै जाखिम मोलेर सांस्कृतिक मोर्चा सञ्चालन गरेको छु ।

प्रचण्डसँग केही मुद्दा, विचार र एजेण्डा मिलेर त्यस्तो देखिएको हो । मैले बोकेको जातीय उत्थानको एजेण्डा २०६० देखि माओवादीले लिएको हो । तर, प्रचण्डको कार्यकालमा भएका नराम्रा कदमको पनि मैले विरोध गरेको छु । फरक मत राखेको छु ।

जनयुद्धकालमा परिवर्तनको ठूलो लहर आएको हो । यस्तो जनयुद्ध नेपालको इतिहासमा न पहिले भयो, न पछि हुन्छ । यो ऐतिहासिक उपलब्धी हो । तर, आज म के बुझ्दैछु भने माओवादीमा पनि सबै वैचारिकरूपमा लागेका रहेनछन् । गाउँमा बिग्रेका मान्छे सुधि्रन, राजनीतिक दुश्मनी मोल्न अवसर खोजेका मानिस नै आज माओवादी नेता भएका छन् । अहिले कोही पनि माओवादी देखिँदैन ।

दुई दशकमा धेरै कुरा बिगि्रएको छ । आज रामहादुर थापा बादलको अवस्था हेरौं । शक्ति बस्नेतले गोठ जलाउँदा दिएको अभिव्यक्ति हेरौं । यी त पहिचानविरोधी, समावेशिताविरोधी भएर देखा परेका छन् । साँच्चै, माओवाद र विचारको रक्षार्थ युद्धमा लागेका मानिस निकै कम रहेछन् ।

माओवादी आन्दोलनभित्रको यो विचलनले मन कत्तिको दुखेको छ ?

हो, निश्चय नै मन दुःखेको छ । म आदिवासी, जनजातिको मुक्तिका लागि निस्वार्थ लडेको मान्छे । मेरा ४० वर्षदेखिका गीत, कविता सबै हेर्दा पनि त्यो थाहा हुन्छ । जनताको पक्षमा निरन्तर सडकमा छु । तर, जोसँग मिलियो, उनीहरू गद्दार भएर निस्कँदा एकदमै पीडा हुन्छ । हाम्रो संघर्ष, त्याग त धूलोमा मिलेजस्तो भयो नि !

अब गीत कविताको कुरो गरौं । यहाँले ‘दुःखहरूले लेखाउँछ कविता’ भन्नुभएको थियो । दुःख ले नै कविता र गीत लेखाएको हो त तपाईंलाई ?

आफूलाई व्यक्त गर्ने कलाका अनेक माध्यम मध्ये साहित्य एक हो । साहित्यभित्रको कविता विधाबाट मैले आफ्नो सुख-दुःख भन्ने हो । मलाई दुख्यो भनेपछि त कविताबाटै व्यक्त गर्नुपर्यो नि, किनकि मेरो मूल भाषा यही हो । म उत्पीडनमा परें, म पहिचानविहीन भएँ भन्ने कुरा पनि कवितामै आउने भयो । व्यक्तिगत, सामुदायिक र राष्ट्रिय जनजीवनको दुःखहरू अभिव्यक्त गर्ने भाषा मेरा लागि कविता नै हो । स्वान्तसुखायका लागि मात्र मैले कविता लेखेको होइन, त्यसमा मेरा दुःखहरू मिसिएका छन् ।

व्यक्तिगत जीवनमा चाहिँ कति दुःख पाउनुभयो ?

भोजपुरको बास्तिम -अहिलेको पौवादोङ्मा गाउँपालिका) को मध्यम वर्गको परिवारमा मेरो जन्म भयो । लाउन-खान पुग्ने अवस्था नै थियो । गाउँमा त त्यति दुःख भएन । तर, सहर आएपछि सिर्जनाको क्षेत्रमा पहिचान बनाउन, जीवनयापन गर्न धेरै दुःख गरियो । आफ्नो आवाज समाजलाई सुनाउन त्यत्तिकै दुःख गर्नुपर्‍यो । कुनै स्थायी जागिर गरिनँ । त्यसले गर्दा पनि व्यवहारिक कठिनाइहरूसँग पनि जुधिरहनुपर्‍यो ।

पहिचानको संघर्षमा होमिएकै हुनाले तपाईंका कविता, गीत पनि वैचारिक (क्रान्तिकारी) भएका हुन् ?

कविता विचार सम्प्रेषण गर्ने गतिलो माध्यम हो । गीतमा विचार अलि कम हुन्छ । किनभने गीतको शब्दावली र बनोट सानो छ । तर, मेरो गीत मधुर र मुलायममात्र छैन, गीतमा पनि चेतनाको कुरा, मुक्तिको कुरा उठाएको छु । पछिल्लो कालमा संस्मरण लेखिरहेछु, जसमा म एकमात्र छैन, म बाँचेको समाज, सभ्यता जोडिएको छ । यसर्थ, मैले लेख्ने हरेक कुरामा मेरो संघर्ष र आम राजनीति अवश्य जोडिएको हुन्छ ।

यहाँले क्रान्तिकारी भावका कवितासँगै जनवादी गीत पनि खुबै लेख्नुभयो नि हैन !

स्कुल पढ्दादेखि नै कविता लेख्थें । काठमाडौं आएपछि कविता नै बढी लेखें । तर, पछि के थाहा भयो भने कविता त सबैले नबुझ्ने रहेछन् । सामान्य मानिसलाई कविता बुझ्न गाह्रो पर्ने रहेछ । भुइँतहसम्म पुग्ा अब कविता हैन, गीत लेख्नुपर्छ भन्ने बोध भएपछि २०४० देखि मैले निरन्तर गीत लेखेको छु । मेरा क्रान्तिकारी गीत सुनेर धेरै युवाहरू क्रान्तिमा लागेका छन् ।

‘यो तिम्रै माटो हो तिमीले टेकेको’ भन्ने त्यो गीत जनयुद्धकालमा चर्चित थियो । गीतको सौन्दर्यले मानिसलाई छुन सहज हुने रहेछ । समुदायलाई झक्झक्याउन गीत ठूलो माध्यम रहेछ भन्ने यसपछि थाहा भयो ।

तर, आजको कविता नाराप्रधान मिसनमा हिँडेको देखिँदैन ?

संसारमा साहित्यलाई हेर्ने दुई धार छन् । अर्थात् कला केका लागि भन्ने सवाल छ । कला कलाका लागि मात्र हो या विचारका लागि ? स्वान्तसुखायको लागिमात्र हो कि सबै सामाजिक जीवनका लागि ? विचारमा लेख्नेहरूले त आफूलाई मात्र लेख्दैनन् । उनीहरूले व्यापक सामाजिक न्यायका लागि लेख्छन् । मेरो विचारमा विशुद्ध नारामात्र कविता हुँदैन, साहित्य हुुँदैन ।

तर, विचारविहीन कविता पनि अर्थहीन शब्दजाल मात्र हुन्छ । नारालाई पनि विचार र कलाले सिंगारेर प्रस्तुत गरियो भने प्रभावशाली कविता बन्छ । म आफू त्यही धारमा छु ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages